Swasthya Awaj
डेन्टल कलेज सञ्चालन सम्बन्धी छलफल गर्न सीटीइभीटीले दुई संस्थालाई वार्तामा बोलायो

काठमाण्डौः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले दुई वटा संस्थालाई वार्तामा बोलाएको छ । मंगलबार पत्र लेख्दै छलफलका लागि बोलाएको हो ।

सीटीइभीटीले नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनलाई १७ गते बोलाएको छ । यी दुई संस्थाले साउन ७ गते सीटीइभीटी सामु डेन्टल चिकित्सालय सञ्चालनमा गुणस्तर कायम गर्न माग राख्दै ज्ञापन पत्र दिएको थियो । ती संस्थाहरूले कतिपय डेन्टल कलेजले 'आर्थिक मोह'का कारण गुणस्तरमा खेलबाड गरेको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएका थिए ।

कतिपय एउटै भवनमा दुई वटा कलेज सञ्चालन गरेको, लाइब्रेरीको व्यवस्था नभएको, अदालतले तोकेबमोजिम शुल्क निर्धारण नगरेको, प्रयोगात्मक कक्षा पनि राम्रो नगरेको भन्दै त्यस्ता कलेजहरू छानबिन गरी गुणस्तर कायम गर्न माग गरेका थिए । सोही विषयमा छलफल गर्न १७ गते बोलाइएको उपनिर्देशक रोहित दाहालले बताएका छन् ।

‘नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन तथा नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनद्वारा मिति २०८१।०४।०७ गते पेश भएको ज्ञापन पत्रका सम्बन्धमा छलफल गर्न तपसिलको मिति र समयमा २/२ जना प्रतिनिधि सहित उपस्थित भइदिनुहुन निर्देशानुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update