Swasthya Awaj
भारतमा बालबालिकाको ज्यान लिने खतरनाक भाइरसको प्रकोप: सङ्क्रमणको २४ देखि ४८ घण्टा भित्र बच्चाको मृत्यु

काठमाडौँ: भारतको गुजरात राज्यमा गएको महिना भरिमा कम्तीमा ५३ जनाको एक्युट इन्सेफलाइटिस सिन्ड्रोमका कारण मृत्यु भएको छ । गुजरातको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार ति मध्ये धेरैको चाँदीपुरा भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको हुनसक्ने शङ्का गरिएको छ।

राजस्थान र मध्य प्रदेश राज्यहरूमा पनि केही बिरामीमा यो भाइरस देखा परेको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा मात्रै १०० भन्दा बढी मानिसमा यो भाइरस देखिएको बताइएको छ।

 

 

जुलाई २९ सम्ममा गुजरातमा भाइरल इन्सेफलाइटिस देखिएका मध्ये ४७ जनामा चाँदीपुरा भाइरस देखिएको पुष्टि भएको छ। यो भाइरस सुरुमा गुजरातको आदिवासी क्षेत्रमा फैलिएको भए पनि अहिले थुप्रै भागमा पुगिसकेको छ। भारत सरकारले अन्य राज्यमा नफैलियोस् भनेर चिकित्सकीय टोलीलाई मद्दतका लागि पठाएको छ।

चाँदीपुरा भाइरस एक प्रकारको भुसुना जस्तो उड्ने किरा ‘स्याण्ड फ्लाइ’ बाट फैलिन्छ। न्याश्नल इन्स्टिच्युट अफ हेल्थका अनुसार यदि यो भाइरसको उपचार नगरिए सङ्क्रमणको २४ देखि ४८ घण्टामै बच्चाको मृत्यु हुन्छ।

चाँदीपुरा भाइरस के हो?
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) मस्तिष्कसम्बन्धी रोगहरूको त्यस्तो समूह हो जुन भाइरस, ब्याक्टेरिया, फङ्गाइ, प्यारासाइटस् र रसायनजस्ता रोग लगाउने विभिन्न कारकहरूबाट हुन्छ। चाँदीपुरा भाइरस (सीएचपीभी) एउटा त्यस्तै मध्येको भाइरस हो। यो राब्डोभेरिडाइ फेमिली अन्तर्गत पर्छ र खासगरी वर्षा याममा पश्चिम, मध्य र दक्षिणी भारतमा यस्को प्रकोप देखिन्छ।

अमेरिकी सरकारको न्याश्नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनस्थित न्याश्नल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित चाँदीपुरा भाइरस एन इमर्जीङ् ट्रपिकल प्याथोजेनू नामक अनुसन्धान पत्रमा लेखिए अनुसार चाँदीपुरा भाइरस भजिक्यूलोभाइरस जातिको आर्बोभाइरस हो। सन् २००३ देखि २००४ मा मध्य भारतमा यो भाइरसको प्रकोप देखिएपछि यसबारे सबैले थाहा पाएका थिए।

यो भाइरस भारत, भुटान, नेपाल, श्रीलङ्का र अफ्रिकाका सेनेगल र नाइजिरियाजस्ता देशमा पनि पाइएको थियो। यो सन् १९६५ मा भारतमा पहिलो पटक पहिचान गरिएको थियो।

चाँदीपुरा भाइरस कसरी फैलिन्छ?
गुजरातको स्वास्थ्य विभागले चाँदीपुरा भाइरस स्यान्ड फ्लाइज भनिने एक किसिमको भुसुना र किर्नाजस्ता किराबाट फैलिने जनाएको छ। हिम्मतनगर सिभिल हस्पिटलस्थित बाल रोग विभागका प्रमुख तथा बाल रोग विशेषज्ञ डा. आशिष जैनले बीबीसी गुजरातीसँग बोल्दै भने,‘चाँदीपुरा भाइरस प्राय: स्याण्ड फ्लाइ र कहिलेकाहीँ लामखुट्टेबाट फैलिन्छ। यी भुसुनाजस्ता किराहरू खरका घरहरू वा माटोका घरहरूमा परेका चिरामा भेटिन्छ।’

उनले भने, ‘सिमेन्टको छत भएका घरहरूमा चिरा परेका ठाउँमा यदि धुलो वा माटो भए त्यहाँ पनि स्याण्ड फ्लाइ भेटिन्छ। उनीहरूको सङ्ख्या कम प्रकाश भएको वा अँध्यारो ठाउँमा फैलिन्छ।’

डाक्टर जैनले व्याख्या गरेका छन्, ‘यो भाइरस त्यति सङ्क्रामक छैन। यदि एउटा बच्चामा छ भने अर्को बच्चामा सोझै सर्दैन। तर यदि सङ्क्रमित बच्चालाई टोकेको किराले अर्को स्वस्थ बच्चालाई टोक्यो भने सर्छ। अहिले भने यो जताततै देखिनभन्दा पनि केही विशेष गाउँहरू र क्षेत्रमा देखिएको छ।’

न्याश्नल सेन्टर फर बायोटेक्नोलोजी इन्फरमेसनले यो भाइरसलाई सार्ने कार्यमा खास गरी स्याण्ड फ्लाइ नै जिम्मेवार रहेको देखिएको उल्लेख गरेको छ। यो थुप्रै प्रकारका जनावरमा पनि पाइएको छ।

बालबालिकामा यो भाइरस लाग्दा कस्ता लक्षणहरू देखिन्छन्?
पाँच वर्षीया किन्जल जुलाई महिनाको सुरुमा एकदमै बिरामी भइन् र उनलाई अस्पताल लगियो। अस्पताल लगेको चौथो दिनमै उनको मृत्यु भयो। परीक्षण गर्दा उनमा चाँदीपुरा भाइरस देखियो। थाहा भएसम्म गुजरातमा उक्त भाइरसको पहिलो पीडित विरामी उनै किन्जल हुन्।

किन्जलकी आमा जाग्रुती नीनमाले आफ्नो बच्चा बिरामी हुँदा के भएको थियो भनेर यसरी सुनाइन्, “पहिला, उनमा ज्वरो देखियो, त्यसपछि मुर्छा पर्न थालिन्। जति पटक मुर्छा पर्थिन् उनको अवस्था त्यति नै बिग्रिँदै गयो। उनलाई रगत दिइयो तर त्यसले केही फरक परेन।” बीबीसी गुजरातीले चाँदीपुरा भाइरसको लक्षणहरूबारे थप थाहा पाउन विशेषज्ञ चिकित्सकहरूसँग कुरा गरेको छ।

अहमदावादस्थित एकेडेमी अफ पिडियाट्रिक्सका अध्यक्ष तथा बाल रोग विशेषज्ञ डाक्टर उन्मेष उपाध्यायले बीबीसीसँग बोल्दै भने, “भाइरस सरेको केही घण्टामै बालबालिकामा उच्च ज्वरो देखा पर्छ। उनीहरूको शरीरको तापक्रम १०२ देखि १०६ डिग्री फरेनहाइटसम्म हुन्छ।” उनले थपे, “टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुने र मुर्छा पर्ने सँगै ज्वरो आयो भने यो चाँदीपुरा भाइरस लागेको सङ्केत हुनसक्छ।”

अरावलीका प्रमुख जिल्ला स्वास्थ्य अधिकारी एम ए सिद्धिकीले भने, ‘पोथी स्याण्ड फ्लाइले टोकेपछि बालबालिकामा लगातार ज्वरो आउँछ। बच्चाको शरीरको तापक्रम एकदमै उच्च हुन्छ। उनीहरूमा पखाला लाग्ने, बान्ता हुने, मुर्छा पर्ने, र बेहोस हुने पनि हुन्छ। अवस्था बिग्रिँदै गए बच्चाको मृत्यु नै पनि हुनसक्छ।’ गुजरातका स्वास्थ्य मन्त्री ऋुषिकेश पटेलले प्रारम्भिक लक्षण देखिने बिरामीहरू तुरुन्तै उपचारका लागि जिल्ला अस्पताल जानुपर्नेमा जोड दिए।

चाँदीपुरा भाइरस कति घातक हो?
इन्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित चाँदीपुरा भाइरस इन्फेक्सनमा बदलिँदो क्लिनिकल परिदृश्य शीर्षकको अनुसन्धान पत्रमा ए।बी। सुदीप, वाइ।के। गुरभ, र भी.पी. बोन्द्रेले लक्षण देखिएको २४ घण्टाभित्रै धेरै बालबालिकाको मृत्यु भएको उल्लेख गरेका छन्। उच्च ज्वरो आउने लक्षणबाट उक्त रोग देखा परे पनि पछि भने मुर्छा पर्ने, पखाला लाग्ने, बान्ता हुने र अन्ततः मृत्यु नै हुने हुन्छ। त्यसको कारण सामान्यतया इन्सेफलाइटिस नै हुने गर्छ जुन गम्भीर प्रकृतिको मष्तिष्क सङ्क्रमण हो।

डा. आशिष जैनले रोगको गम्भीरताबारे बताउँदै भने, ‘यो रोग लागेका बालबालिकामा मृत्युदर ८५ प्रतिशतसम्म उच्च छ। यो भनेको १०० बालबालिकालाई चाँदीपुरा भाइरस सर्यो भने जम्मा १५ जना मात्रै बाँच्छन्।’

उनले भने, ‘माटोको घरमा वा अलि फोहोरी क्षेत्रमा बस्ने ९ देखि १४ वर्ष उमेरका बालबालिकामा रोग प्रतिरोधी क्षमता तुलनात्मक रूपमा कम हुन्छ जसका कारण उनीहरू यो रोगसँग लड्न त्यति सक्दैनन्।’ गुजरात राज्यमा चाँदीपुरा भाइरसका कारण धेरै बालबालिकाको मृत्यु भएका कारण त्यहाँको सरकारले भाइरसको फैलावट नियन्त्रण गर्न, सङ्क्रमितलाई उपचार गर्न र यसबारे चेतना फैलाउन काम गरिरहेको जनाएको छ।

चाँदीपुरा भाइरसको उपचार छ?
चिकित्सकहरूका अनुसार यो भाइरसका लागि विशेष उपचार छैन। लक्षणका आधारमा उपचार गरिने हो र यसका विरुद्ध अहिलेसम्म कुनै खोप पत्ता लगाइएको छैन।

डा. उन्मेष उपाध्याय भन्छन्, ‘अहिले वर्षा याम भएका कारण भाइरल ज्वरो सामान्य हो। तर ज्वरोको साथै पखाला लाग्ने, बान्ता हुने, र शरीर बाउँडिने जस्ता लक्षणहरू देखिए बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्छ।’ उनले थपे, ‘यो रोगका लागि विशेष एन्टिबायोटिक केही छैन। यदि बच्चामा ज्वरो देखियो भने चिकित्सकले पारासिटामोल दिन्छन्। यदि बच्चालाई सास फेर्न गाह्रो भए उनीहरूलाई भेन्टिलेटरमा राखिन्छ।’

डा. सिद्धिकीको सुझाव छ, ‘सबै जनाले र खास गरी बालबालिकाले हातखुट्टा छोपिने गरी लुगा लगाउनुपर्छ। लामखुट्टे आउन नदिने क्रिम लगाउनुपर्छ। घरमा चिरा परेका खाली ठाउँमा मेलाथियोन छर्किनुपर्छ। खेत नजिकै बसोबास गर्ने मानिसहरूले पनि आफ्नो घरमा कीटनाशक छर्किनुपर्छ।’ सरकारले पनि मेलाथियोन पाउडर छर्किएर यो रोग नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। मेलाथियोन त्यस्तो किटनाशक हो जुन भाइरस र ब्याक्टेरिया फैलाउने किराहरू नियन्त्रण गर्न प्रयोग गरिन्छ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update