नवलपरासी १२ चैत । परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा गए राती आगलागी भएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. किरण पाण्डेका अनुसार अस्पतालको प्रयोगशालामा जडान गरिएको एयर कण्डिसन (एसी)मा विद्युत सर्ट भई आगलागी भएको हो ।
उनले आगलागी पछि अहिले अस्पतालको इमरजेन्सी सेवा, प्रयोगशाला र फार्मेसी सेवा स्थगित भएको जनाएका छन् ।
‘आगलागी पछि विद्युत काटिएको अवस्था छ । कहाँ कहाँ सर्ट छ भन्ने पनि हेरिसकिएको छैन । अब आज दिउसो विद्युतका कर्मचारीहरु आएर हेरेर विद्युत सुचारु भएपछि मात्रै सेवा पुन सञ्चालनमा आउँछ । अहिले त ती ठाउँमा धुवा र खरानी मात्रै छ । त्यसैले केही सेवाहरु तत्कालका लागि स्थगित गरेका हौँ,’ मेसु डा. पाण्डेले भने ।
गए राती ८ : ५० बजे तिर प्रयोगशाला कक्षको एसीबाट आगलागी सुरु भएको थियो । सोही भवनमा इमरजेन्सी र फार्मेसी भएको तथा त्यहाँ विद्युतको सप्लाई समेत नभएको कारणले तत्कालका लागि सेवा स्थगित गर्नु परेको डा पाण्डेले जानकारी दिए ।
आगलागीका बेला केही बिरामी र स्वास्थ्यकर्मीहरु भवन भित्रै रहेका थिए । यद्धपी तत्कालै उनीहरुलाई सिफ्ट हुन सक्दा मानवीय क्षति भने हुन पाएन ।
५० बेडको सो अस्पताल लुम्बिनी प्रदेशको पुरानो अस्पताल मध्ये पर्दछ ।