Swasthya Awaj
हैजाको हटस्पट बन्यो ललितपुर, आउटब्रेकको सम्भावना सबैलाई सजक हुन बिज्ञको सुझाव

ललितपुर: काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुर सहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा १ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । 

ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका–१ का ७ जनामा हैजा पुष्टि भएको छ । उपत्यकामा जनघनत्व र फैलिने दर हेर्दा आउटब्रेक हुने सम्भावन देखिएको हुँदा सबैलाई सजन हुन बिज्ञले सुझाव दिएका छन । र नेपाल सरकारले पनि बिशेष जनचेतनाका कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको बिज्ञको भनाई छ । 

बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।   

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update