काठमाडौँ: स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुले त्यहाँ कार्यरत शाखा अधिकृत शोभित रिजालबिरुद्ध आन्दोलन छेडेका छन् । उनीहरुले अधिकृत रिजाललाई जिम्मेवारीबाट हटाई काज फिर्ता नगरेसम्म पेन डाउन गर्ने निर्णय गरेका छन् ।
यसअघि रिजाललाई हटाउन कर्मचारीहरुले गत साउन ३ मा १५ दिनको अल्टिमेटम दिएका थिए । तोकिएको समयमा आफूहरुको माग सुनुवाई नभएपछि आज देखि माग पुरा नभएसम्म पेन डाउन गर्ने निर्णय गरेको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।
उनीहरुले रिजालमाथि कर्मचारीहरुलाई बारम्वार धम्काउने, हप्काउने, अमर्यादित व्यवहार गर्ने, सार्वजनिक स्थलमा समेत अपशव्द बोली मानसिक तनाव दिने जस्ता व्यवहार गर्ने गरेको आरोप लगाएका छन् ।
यता शाखा अधिकृत रिजालले भने आफूले स्वास्थ्य बीमा बोर्डमा रहेको वेथितिबिरुद्ध आवाज उठाउँदा अनर्गल आरोप लगाएको दावी गरेका छन् ।
‘अरु धेरै कुरा नगरौँ बीमा बोर्डको आइटीले सिस्टममा गर्नु पर्ने काम गरेन, ड्यासबोर्ड चल्दैन । दुई जना कर्मचारीको हातमा डाटा सिस्टम राखिएको छ, तर त्यो सुरक्षित छैन । पारदर्शी छैन । मन लागे एड् गर्ने मन नलागे डिलिट गर्ने सम्मको कार्य भएको छ । यसरी हुँदैन भनेर मैले आवाज उठाएको हुँ । विकृति ओकल्छ भन्ने डरले म विरुद्ध एकजुट भएका होलान,’ रिजालले भने ।
एक प्रश्नमा उनले आफू कसैको तारो भएर बस्ने इच्छा नभएको भन्दे सरुवाका लागि निवेदन दिएको समेत बताए । ‘सहकर्मीहरु नै मबिरुद्ध लागेपछि म त्यहाँ जबरजस्ती बस्ने कुरा भएन । सरुवाका लागि निवेदन दिएको छु । त्यतिन्जेल सम्मका लागि विदामै बसेको छु । तर त्यहाँ भित्रको विसंगतीहरु भने त्यहाँ नभए पनि बाहिर ल्याउने छु,’ उनले भने ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला भने आफू उपत्यका बाहिर रहेकोले पछिल्लो अपडेट नभएको बताए ।
हेर्नुहोस साउन ३ मा बुझाइएको पत्र