Swasthya Awaj
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का

काठमाडौः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत बीचको जुँगाको लडाइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य अन्धकार बन्न सक्ने तर्फ चिन्ता बढेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बसेको सिनेट बैठकले जुम्ला र सुर्खेत मिलेर प्रतिष्ठान चलाउने निर्णय गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलले पनि सोही सिनेटको आडमा दुई निकाय मिल्ने र राम्रोसँग प्रतिष्ठान चलाउने बाचा अनुसार एमबीबीएसको कार्यक्रम स्वीकृत गरेको थियो । तर, जुन दिन मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको कार्यक्रम हात पारे उनले सुर्खेतलाई पूर्णरुपमा बाइपास गरे ।

नेपाल मेडिकल काउन्सिलका तत्कालीन अध्यक्ष प्राध्यापक डा. भगवान कोइराला त्यस समयको बाचा र अहिलेको व्यवहार सम्झेर शब्द विहीन हुन्छन् । जुम्ला र सुर्खेत मिलेर प्रतिष्ठान चलाउने बाचा अनुसार कुनै काम नभएको प्रति कोइरालाको दुखेसो छ । अधिकारीहरू व्यक्ति र दल अनुसारको स्वार्थमा प्रतिष्ठान बनाउँदै जाँदा दुर्भाग्य हुने बताउँछन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमाधम अस्पताल बन्ने काम भइरहेको छ । यता सुर्खेतमा भने विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा छ । सुर्खेतको मात्रै जनसङ्ख्या ४ लाख १५ हजार १२६ रहेको छ । यता जुम्लाको जनसङ्ख्या १ लाख १८ हजार ३ सय रहेको छ । प्रतिष्ठान चलाउँदा अस्पतालमा बिरामीको चापलाई पनि मुख्य केन्द्रमा राखिएको हुन्छ । बिरामीको न्यूनतम मेडिकल शिक्षाको गुणस्तर राम्रो हुदैन । यसले पनि सुर्खेत अस्पतालमा बिरामीको चाप जुम्लामा भन्दा धेरै हुने अनुमान लगाउन सकिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना प्रमुख डा. कृष्ण पौडेलले जुम्ला र सुर्खेत अस्पताल मिल्दा राम्रोसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चल्न सक्छ । तर, प्रतिष्ठानले विगतको निर्णय अनुसार सुर्खेतसँग मिल्ने भन्दा पाल्पा लगायतका स्वास्थ्य संस्थासँग सम्झौता गर्दै हिँडिरहेको छ । प्रतिष्ठानका पदाधिकारीको यो रबैयाले कर्णाली मात्र हैन अन्य प्रतिष्ठानमा समेत प्रश्न उठाएको छ ।

दुई वर्ष सम्म पनि जुम्लाले सुर्खेतलाई केही नदिएपछि सुर्खेत अस्पताल आफै प्रतिष्ठान बन्ने दौडमा लागेको छ । प्रतिष्ठानका लागि सुर्खेत राजनीतिक दाउपेचमा बसेको छ । जुम्लालाई पनि आफै मात्र प्रतिष्ठान बनौ भन्ने छ । दुई निकायको शक्ति सन्तुलन मिलाउन सकिएको छैन ।

अधिकारीहरू भन्छन् जुम्ला र सुर्खेत बीचको यो जुँगाको लडाइ मात्रै हो । सुर्खेतलाई जुम्ली कसरी हराउने भन्ने छ भने, जुम्लीको कसैलाई नगन्ने पुरानै शैली छ । अधिकारीहरू भन्छन् मध्यपश्चिमका शिर्ष नेताहरु अहिले सुर्खेतको पक्षमा उभिएका छन् । शिर्ष नेताहरु सुर्खेतलाई प्रतिष्ठान बनाउने अभियानमा लागेका छन् ।

मेडिकल काउन्सिलका अधिकारीहरू भन्छन् सुर्खेत र जुम्ला मिलेर सँगै एमबीबीएस चलाउने शर्तमा स्वीकृती दिएको थियो । तर, अहिले जुम्लाले टेरपुछर लगाएको छैन । जुन दिन जुम्लाले एमबीबीएस अध्ययनको स्वीकृत पायो त्यही दिनबाट सुर्खेत बाइपास भएको छ ।

एउटा मात्रै भएपनि कार्यक्रम दिन बिन्ति बिसाएका उपकुलपति मंगल रावलले कार्यक्रम हात पार्न सुर्खेतसँग मिलेरै जाने बाचा दिएका थिए । उनको बाचा अनुसार केही कार्यक्रम हात पारे तर, त्यो दिनबाट उनिहरुको बाटो मोडियो । सबैले आ–आफ्नो ठाउँमा प्रतिष्ठान भन्दै जादा राज्यले धान्न सक्दैन त्यसैले मिल्ने स्थानमा सहकार्य गरेर अगाडि जान उपयूक्त हुन्छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update