Swasthya Awaj
गोरखा जिल्लामा स्क्रब टाईफसबाट ५० जना सङ्क्रमित

गोरखा: गोरखा जिल्लामा स्क्रब टाईफसका ५० जना मानिसहरू सङ्क्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ५० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा २० जनामा स्क्रब टाईफसको संक्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गोरखा र पालुङटार नगरपालिकामा १४/१४ जनामा स्क्रब टाईफस पुष्टि भएको छ । त्यस्तै भिमसेनथापा गाउँपालिकामा २ जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर १६३ जनामा स्क्रब टाईफसको संक्रमण देखिएको थियो । गत वर्ष सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा ८५ जनामा यो संक्रमण पुष्टि भएको थियो । गोरखा नगरपालिकाको ६२, भिमसेनथापा गाउँपालिकाको ११ र पालुङटार नगरपालिकाको १ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्क्रब टाईफस किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मानिसमा सर्ने चिकित्सकहरू बताउँछन् । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ ।

खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुईँसम्म बुट लगाउने, बाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने र स्क्रब टाइफस लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गए संक्रमण रोकथाम गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update