देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुग्यो, ललितपुरमा सबैभन्दा बढी

काठमाडौँः देशभर हैजा सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २७ पुगेको हो ।
सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौँमा १ गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसै गरी कैलालीमा ८ र प्युठानमा २ जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका १ जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।
गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ ०७:४६
प्रतिक्रिया दिनुहोस्