Swasthya Awaj
कर्णालीको स्वास्थ्यमा सुधारका संकेत देखिदैं

वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले कर्णालीको प्रमुख स्वास्थ्य सूचक सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ वार्षिक समीक्षामार्फत प्रमुख स्वास्थ्य सूचकहरु सार्वजनिक गरेको हो । सुरक्षित सुत्केरी, बालमृत्यु दर, अस्थायी साधन प्रयोगको अवस्थादेखि पोषणको अवस्था तीन आर्थिक वर्षको तथ्यांक सार्वजनिक भएको हो ।

भौगोलिक रुपमा विकट तथा सबै ठाउँमा यातायातको पहुँच नभएको कर्णालीमा अधिकांश सूचक सुधार भएको पाइएको छ । संस्थागत सुत्केरी हुने दरमा समेत भारी मात्रामा सुधार आएको छ । कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिकाको संख्या २०७८/०७९ मा ८८.६ प्रतिशत रहेको थियो भने २०७९/०८० मा ८३ प्रतिशत रहेको छ ।

२०८० पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरिरहेको पाइएको छ । त्यस्तै, कम तौल भएका दुई वर्षमुनिका बालबालिकाको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ४.१ रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ३.६ रहेको विवरण सार्वजनिक गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।

नवजात मृत्यु संख्या आर्थिक वर्ष २०७८/०७९ मा दुई जना रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा शून्यमा झरेको तथ्यांकमा देखाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताए । पाँच वर्षमुनिको मृत्यु संख्या २०७८/०७९ मा १० जना, आर्थिक वर्ष २०७९/०८० मा आठजना र २०८०/०८१ मा पुस मसान्तसम्म जम्मा १० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मातृमृत्यु संख्या १७ जना रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १६ जना रहेको छ । २०८० पुससम्म ६ जना आमाको मृत्यु भएको तथ्यांक रहेको सामाजिक विकास मन्त्रालयका सचिव पोखरेलले बताए । परिवार नियोजन साधन प्रयोगदर २०७८/०७९ मा १८.७ प्रतिशत, आर्थिक वर्ष २०७९/०८० मा १६.१ र २०८० पुस मसान्तसम्म १६.१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ७२.३ रहेको थियो भने आर्थिक वर्ष २०७९/०८० मा आएर बढेर ९८.३ प्रतिशत पुगेको छ ।

आथिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ । आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको संख्या आर्थिक वर्ष २०७८/०७९ मा शून्य रहेको छ । त्यस्तै आव २०७९/०८० मा ३४.६ प्रतिशत रहेको छ । २०८०/०८१ मा पुस मसान्तसम्म ३१.४ प्रतिशत रहेको छ । सुत्केरी पश्चात प्रोटोकलअनुसार तीनपटक जाँच गराउने आमाको आव २०७८/०७९ मा ५२.६ प्रतिशत रहेको छ । त्यस्तै आव २०७९/०८० मा ५७.३ प्रतिशत र आव २०८०/०८१ को पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा आएर संस्थागत सुत्केरी हुनेको संख्यासमेत बढ्दो छ । आव २०७८/०७९ मा ६९.८ प्रतिशत रहेकोमा आव २०७९/०८० मा बढेर ८३.६ प्रतिशत रहेको छ । २०८०/०८१ को पुस मसान्तसम्म ८३ प्रतिशतमात्र रहेको पाइएको छ । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी हुनेको संख्या आव २०७८/०७९ मा ७०.१, आव २०७९/०८० मा ७४.५ र आव २०८०/०८१ को पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको संख्या आव २०७८/०७९ मा एक हजार ६५२, आव २०७९/०८० मा एक हजार ५७२ र आव २०८०/०८१ को पुस मसान्तसम्म ६८५ जना रहेको पाइएको छ । नयाँ कुष्ठरोग बिरामीको संख्या आव २०७८/०७९ मा ६८, आव २०७९/०८० मा ७३ र आव २०८०/०८१ को पुस मसान्तसम्म २८ जना रहेको पाइएको छ । हेल्थ आवाज

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update