Swasthya Awaj
देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो, ललितपुरका थप ३ जनामा हैजा संक्रमण पुष्टि, सबैलाई सजक हुन बिज्ञको सुझाव

ललितपुरः ललितपुरमा थप ३ जनामा हैजा संक्रमण पुष्टि भए संगै देशभर हाल सम्म संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । 

हालसम्म ४ जिल्लामा हैजा देखिएको छ । अहिलेसम्म ललितपुरमा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा ८, प्युठानमा २ र काठमाडौंमा १ जनामा हैजा पुष्टि भएको छ । 

आइतबार देखि सोमबार सम्म २४ घण्टामा ललितपुरमा ३ जनामा हैजा पुष्टि भएको थियो । सोमबार २ जना बिरामी अस्पताल भर्ना भएका छन् ।

पहिलो पटक ललितपुरको गोदावरी नगरपालिका ठैबमा रहेको एक सुधारगृहका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको थियो । इडीसीडीका अनुसार उक्त सुधारगृहका थप १० जनामा देखिएको छ । 

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर थप निगरानी गरिरहेको पनि इडीसीडीले जनाएको छ । अहिलेसम्म हैजाबाट कसैको मृत्यु नभए पनि सबैलाई सजक हुन र सरसफाईमा बिशेष ज्ञान दिन बिज्ञले सुझाव दिएका छन । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update