Swasthya Awaj
वीर अस्पतालको अनियमितता छानबिन गर्दै सतर्कता केन्द्र, १५ विषयमा कागजपत्र खोज्दै

काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र सो मातहत रहेको वीर अस्पतालमा विभिन्न विषयमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको छ।

केन्द्रले प्राप्त उजुरीको  छानबिन गरी प्रतिवेदन पेश गर्न  प्रहरी उपरीक्षक राजेन्द्र कुमार पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरी काम अघि बढाएको छ। 

समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिका नाममा साउन १८ गते पत्र लेख्दै ३ दिनभित्र आवश्यक कागजातको प्रमाणित प्रतिलिपी बुझाउन भनेको थियो।

तर कागजात प्राप्त नभएपछि समितिले पुनः ताकेता गरेको छ। गत आइतबार पनि समितिले कागजात मागेको थियो। तर न्याम्स र वीरका पदाधिकारीले भने कागजात दिन आलटाल गरेका छन्। 

राष्ट्रिय सतर्कता केन्द्रले हाल वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलको सहायक प्राध्यापक र उप- प्राध्यापकको उपाधि पाउन गैरकानुनी तवरबाट भएको उजुरीका आधारमा आठौ तहको सुरु स्थायी नियुक्ति पत्र,  स्नातकोत्तर अध्ययन गर्दा सोको अध्ययन सहमति पत्र, भर्ना मिति, नवौ र दशौं तहमा वढुवा मिति र नियुक्ति पत्रसँग सम्वन्धित कागजातको प्रमाणित प्रतिलिपिहरु पत्रमार्फत माग गरेको छ।

यसैगरी डा पौडेल राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख हुँदा बिभिन्न सामग्री खरीद गर्ने क्रममा इष्टमेट तयार गर्दा सिमित कम्पनीसँग मिली औषत लागत भन्दा बढी मूल्य कायम गरी खरीद गरीएको भन्दै त्यससँग सम्बन्धित कागजात पनि माग गरिएको छ। 

कर्मचारी समायोजन हुँदा २०७६ सालमा संघमा रहनका लागि बिरामी नभए पनी मिलेमतोमा मेडिकल बोर्डको सिफारीस बनाई संघ / पुल / फाजल दरबन्दीमा वीर अस्पतालमा कार्यरत अहेव टिकाराम पनेरु  र युवराज सुवेदीले हाकिमलाई प्रभावमा पारी चलखेल गर्न अस्पतालको आकर्षक मानिने मेडिकल स्टोरमा कार्यरत रही करोडौ अशुल गरी विगत ४ वर्षदेखी हालसम्म कार्यरत रहेको उजुरी परेको केन्द्रले जनाएको छ।

यस्तै अस्पतालमा आर्थिक तथा प्रशासनिक सुशासनको बारेमा आवाज उठाउने कर्मचारीलाई निर्देशक पौडेल, टिकाराम पनेरु, युवराज सुवेदी, नवराज धिताल, बैकुण्ठ लुईंटेल लगायतले डर, धाक / धम्कि लगायत गुण्डा लगाई ठिक पार्छु भन्ने गुनासोको सम्वन्धमा प्रतिष्ठानले के कस्तो सुरक्षात्मक व्यवस्था गरेको छ सो बारे न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतसँग जवाफ माग गरिएको छ। 

यस्तो छ केन्द्रले मागेको कागजात विवरण

satarkata-patra-1-1723532238.jpg

2-1723532237.jpg

3-1723532237.jpg

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update