ललितपुरः उच्च अदालत पाटनले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को नतिजामा नन् ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी गराउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
बोर्डको नतिजामा नन ग्रेडेड (एनजी) आएर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीलाई पनि एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै स्मृति राउतले गत सोमबार आयोगलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेकी थिईन ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले नतिजामा अन्तिममा हेरफेर हुन सक्ने भन्दैं नन् ग्रेडेड (एनजी) आएका तर एकीकृत प्रवेश परीक्षाको फर्म भरेका विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।
कक्षा १२ को परीक्षा अगावै योग्य ठह्याई आयोगले सूचना प्रकाशित गरेकोले पुनर्योगको निर्णय नआउँदैं परीक्षामा सहभागी नगराउँदा उनीहरुको अध्ययन गर्ने अवसरमा तत्कालका लागि असर पर्ने देखिएको अन्तरिम आदेशमा छ ।
‘निवेदकहरु पुर्नयोगबाट सफल भई प्रवेश परीक्षामा असफल भएमा वा प्रवेश परीक्षामा सफल भई पुर्नयोगबाट असफलमा यी दुवै अवस्थामा निजहरु चिकित्सा शिक्षा आयोगबाट संचालन हुने स्नातक तहको अध्ययनका लागि निजहरु ग्राह्य हुने अवस्था देखिदैन्,’ अन्तरिम आदेशमा छ, ‘तर, निर्धारित प्रवेश परीक्षामा सहभागी हुने अवसरबाट तत्काल बञ्चित हुनु परेको अवस्थामा निजहरु पुनर्योगको नतिजामा सफल भएमा निवेदकहरुलाई क्षति पुग्न सक्ने अवस्था देखिन्छ ।’
अदालतले परीक्षामा निवेदकहरुलाई सहभागी गराउँदा विपक्षी आयोगलाई पर्ने कार्यभारभन्दा निवेदकलाई पर्ने क्षति गम्भीर र अपुरणीय देखिने भन्दैं सुविधा सन्तुलनका दृष्टिले समेत अन्तरिम आदेश जारी गरेको जनाएको छ ।
एकीकृत प्रवेश परीक्षा १ भदौमा हुँदैछ ।