Swasthya Awaj
मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया

काठमाडौँ: महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।

डा भट्टराईका अनुसार ती गर्भवतीको मुटुबाट निस्कने नशा फुटेको (एसेन्डिङ एओर्टिक एनोरिजम वीथ डिसेक्सन) थियो ।‘मुटुको नशा च्यातिनै लागेको अवस्थामा सो शल्यक्रिया गरिएको हो । केही समय ढिला भएको भए गर्भवती महिला र उनको पेटमा रहेको बच्चा दुबैको ज्यान जान सक्थ्यो,’ डा भट्टराईले भने ।

मुटुको शल्यक्रिया गर्नु अघि प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको टोलीले पेटको बच्चा निकालेको थियो ।चार दिन अघि गरिएको सो शल्यक्रिया पछि अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य भएको डा भट्टराईले बताए ।

उनले यस्तो खालको मुटुको शल्यक्रिया संसारमै जटिल र उच्च जोखिमयुक्त मानिने डा भट्टराईले बताए ।यस्तै केश छ वर्ष अघि पनि डा भट्टराईको टोलीले मनमोहन कार्डियोमा गरेका थिए ।

यो केशमा मुटुको शल्यक्रिया गर्न डा भट्टराईको नेतृत्वमा डा रबि बराल र डा प्रभात खकुरेलको टिम खटिएको थियो । यस्तै स्त्री रोग विशेषज्ञहरु डा सुनिति रावल, डा पुजा पौडेल र डा संयुक्ता राजभण्डारी खटिएका थिए । यस्तै एनेस्थेसियामा डा विश्वास प्रधान, डा विभुश श्रेष्ठ र डा अर्जुन गुरुङले सघाएका थिए । यस्तै फरफ्युसन असिस्टेन्टको रुपमा महेन्द्र भट्टले सघाएको डा भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update