Swasthya Awaj
सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेस गर्न विभागको निर्देशन

काठमाडौँ, १२ चैत । औषधि व्यवस्था विभागले सरकारी स्वास्थ्य संस्थामा निशुल्क वितरण हुँदै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधिहरु कति नेपालमा उत्पादन हुन्छन र कति आयात गरिन्छन् भनेर अध्ययन थाल्ने भएको छ ।

बिषयः-निशुल्क-वितरण-हुने-९८-प्रकारको-औषधिहरुको-विवरण-स-1711381455.jpeg
विभागले यहि अध्ययनका लागि भन्दै औषधि उत्पादक तथा आयातकर्तासंग पछिल्लो तीन वर्षको विवरण माग समेत गरेको छ ।

‘हामीले सम्वन्धित औषधिका उत्पादक तथा आयातकर्तालाई आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/ ८० को उत्पादन तथा आयातको बार्षिक विवरण पेश गर्न भनेका छौँ । आगामी ६ बैशाखसम्म विवरण अनिवार्य रुपमा बुझाउन भनेका छौँ,’ विभागका महानिर्देशक नारायण ढकालले भने ।

सरकारले हरेक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटमा स्वदेशी औषधि उद्योगलाई प्रवर्द्धन गर्ने नीति लिएको बताउँदै आउको छ । तर स्वदेशी उत्पादकहरुले भने घोषित नीतिहरुको कार्यान्वयन हुन नसकेको बताउँदै आएका छन् ।

‘निजी क्षेत्रबाट खोलिएका उद्योगसंंगै सरकारको आफ्नै उद्योग पनि छ । यी उद्योगहरुले सरकारले वितरण गर्दै आएको ९८ प्रकारका अत्यावश्यक औषधिहरु कति उत्पादन गर्दा रहेछन् ? कति बाहिरबाट आयात हुँदो रहेछ ? यी कुराहरुको जानकारी हुन्छ । यो एउटा अध्ययन नै हो । यसले आगामी दिनमा सरकारले लिने नीतिमा समेत मार्गदर्शन हुनसक्छ । त्यसैले यो विवरण माग गरेका हौँ,’ ढकालले थप स्पष्ट पार्ने प्रयास गरे ।

यसअघि नेपाल औषधि उत्पादक संघले गरेको फार्मा एक्स्पोमा सहभागी सरकारी प्रतिनिधिहरुले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न निशुल्क वितरण हुने औषधिहरु मात्रै भए पनि स्वदेशी उद्योगका उत्पादन लिन सकिने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update