ललितपुरः नेपाल मंकीपक्स सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी पनि नेपालमा पर्यटकहरूको आऊ–जाऊ बढी हुने तथा विभिन्न मुलुकमा सिधै हवाई उडान नहुँदा एमपक्स देखिएको मुलुक ‘ट्रन्जिट’ हुने भएकाले सङ्क्रमण भित्रिन सक्ने सम्भावना रहेको स्वीकार गर्दछन् ।
‘एमपक्सको जोखिममा नेपाल पनि छ । गत वर्ष एक जना विदेशी महिलालाई एमपक्स देखिएको थियो,’ उनले भने, ‘हामीकहाँ नेपाली सेना, अन्य मानिसहरू पनि कामका लागि विदेश जाने–आउने भइरहन्छ । यहाँ पर्यटकका रूपमा आउने, काममा आउने पनि थुप्रै हुनुहुन्छ ।’
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल देखिएको एमपक्सको मृत्युदर १० प्रतिशत रहेको बताए । उनका अनुसार एमपक्स दुई प्रकारका हुने गर्दछन् । एउटा ‘क्लेड १’ र अर्को ‘क्लेड २’ । यी दुईमध्ये ‘क्लेड २’ को तुलनामा ‘क्लेड १’ खतरनाक छ ।
हाल मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको ‘क्लेड १’ को ‘म्युटेशन’ ‘क्लेड १बी’ रहेको डा. पुनको भनाइ छ ।
एमपक्सको लक्षण
- ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् ।
- आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
कसरी फैलिन्छ एमपक्स ?
- मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा,
- मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट,
- शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट,
- सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट
- भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
कसरी जोगिने ?
विश्व स्वास्थ्य संगठनले एमपक्सको जोखिमबारे सचेत गराएसँगै विभिन्न सावधानी अपनाएको सरकारी निकायको दाबी छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेक्स’ सँगै देशभरका १६ वटा सीमामा उच्च निगरानी बढाएको बताए ।
‘विश्व स्वास्थ्य संगठनले अलर्ट गर्ने बित्तिकै हामीले नाकाहरूमा हेल्थ डेस्क सक्रिय तुल्याएर सावधानी अपनाएका छौँ,’ उनले भने, ‘शङ्का लागेमा आइसोलेशसनमा राख्न र नजिकको स्वास्थ्य संस्थामा परीक्षणका लागि पठाउन भनेका छौँ ।’
डा. बुढाथोकीले देशका विभिन्न स्वास्थ्य संस्थामा एमपक्सको लागि ‘फोकल पर्सन’ पनि निर्धारण गरेको जानकारी । ‘हामीले के–के थप कार्य गर्ने भनेर छाला रोग विशेषज्ञ वा भाइरस रोग विशेषज्ञसँग छलफल गर्छौँ,’ उनले भने ।
सरकारी निकायले मात्रै एकोहोरो पहल गरेर यसलाई नियन्त्रण गर्न नसक्ने भएकाले आम नागरिक पनि सचेत हुनुपर्ने उनको भनाइ छ । ‘विदेशबाट आएका मानिस वा शङ्कास्पद भएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्नु प¥यो,’ उनले भने, ‘विदेशबाट आएको व्यक्तिसँग करिब तीन सातासम्म शारीरिक सम्बन्ध राख्न भएन ।’
डा. शेरबहादुर पुनले एकपक्स भएको ठाउँबाट आएका व्यक्ति छन् भने विशेष गरी रुघाखोकी जस्तो लक्षण र शरीरमा आउने बिमिरा २१ दिनभित्र देखिएमा विचार गर्नुपर्ने बताए । ‘हेल्थडेस्कमा जाँच गराउँदा एमपक्सको लक्षण नदेखिन सक्छ । त्यसकारण २१ दिनसम्म रुघाखोकी जस्तो लक्षण र शरीरमा बिमिराहरू आउँछ कि भनेर विचार गर्नुपर्छ,’ उनले भने, ‘यस्तो लक्षण देखिएमा जाँच गराउनुपर्छ ।’
डा. पुनले ठेउला र एमपक्सको लक्षण उस्तै देखिने भएकाले जाँच अनिवार्य गराउन सुझाए ।
उपचार छ ?
विश्व स्वास्थ्य संगठनले एमपक्समा ‘स्मलपक्स भ्याक्सिन’ प्रयोग गर्न सुझाव दिएको छ । तर सो रोग ७० वर्ष पहिला नै विश्वबाट निर्मूल भएकाले भ्याक्सिन पाउन मुस्किल रहेको डा. बुढाथोकीले बताए ।
‘स्वास्थ्य संगठनले क्लियर भनेको छ– जहाँ धेरै महामारी हुन्छ, त्यहाँमात्रै स्मलपक्स भ्याक्सिन प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘स्मलपक्स सन् १९५८ मा अर्थात् ७० वर्ष पहिला नै उन्मुलन भएकाले त्यसको भ्याक्सिन पाइँदैन । जहाँ जहाँ छ, त्यहाँका लागिमात्रै भ्याक्सिन उत्पादन गरिने छ ।’
हालसम्म एमपक्सको उपचार छैन । यसबाट जोगिन सजगता अपनाउनु उपयुक्त हुने विज्ञहरूले बताएका छन् ।