Swasthya Awaj
भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि डा. प्रकाश खतिवडाको संयोजकत्वमा छानविन समिति गठन

काठमाडौँ: पाठेघरमा पलाएको मासुको जाँच गर्न भरतपुर अस्पताल भर्ना भएकी एक महिलाको बायोप्सी लिने क्रममा मृत्यु भएपछि त्यसको कारण पत्ता लगाउन छानविन समिति गठन भएको छ ।

भरतपुर महानगरपालिका – १२ मुनाल चोक ठेगाना भई हाल गैडाकोट बस्ने ३९ बर्षकी सम्झना काफ्लेको गएराती साढे १० बजे अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि आफन्तहरुले चिकित्सकको लापर्वाही भन्दै छानविनको माग गरेका थिए ।

आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वपक्षीय छानविन समिति गठन गर्ने निर्णय गरेका हुन् ।प्रजिअ यादवले भरतपुर अस्पतालका बरिष्ठ डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन् । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरिएको प्रजिअ यादवले जानकारी दिए ।

सोमबार पाठेघरको मासुको जाँचको लागि वायप्सी गर्नको लागि भरतपुर अस्पताल भर्ना भइ मंगलबार सामान्य शल्यक्रिया गर्ने भनिएपनि एनेस्थेसिया लगाएपछि काफ्लेको स्वास्थ्य गम्भीर भएको थियो । गम्भीर अवस्थामा भरतपुर अस्पतालकै आइसियूमा लगिए पनि काफ्लेको राती साढे १० बजे निधन भएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

यस्तो छ सम्झौँता

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update