काठमाडौँ: सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जलन भएका बिरामीका लागि निःशुल्क उपचार गर्ने कार्यविधि बनाएर लागु गर्ने तयारीमा रहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलन भएका बिरामीको निःशुल्क उपचार गर्न लागेको जानकारी दिँदै सहमतिका लागि कार्यविधि अर्थ मन्त्रालयमा पठाइसकेको बताए । अर्थबाट सहमति आएपछि जलनको उपचार निःशुल्क हुने उनले जानकारी दिए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि जलनको उपचार निःशुल्क गर्ने गरी सो कार्यलाई प्राथमिकता दिएका छन् ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य मन्त्रालयले तयार पारेको कार्यविधिमा जलनका बिरामीको प्राथमिक उपचार जिल्ला अस्पतालमा हुने उल्लेख छ । त्यहाँ उपचार हुन नसकेका बिरामीलाई केन्द्रीय अस्पतालमा रिफर गरिने व्यवस्था छ ।
डा बुढाथोकीका अनुसार कार्यविधिमा जलन उपचारको प्रयोजनका लागि सरकारी अस्पताललाई प्राथमिक र सेकेन्डरी तहमा छुट्याइएको छ । प्राथमिक तहका अस्पतालका रूपमा जिल्ला अस्पताललाई मानिने छ । जलन भएका सामान्य सर्जरी गर्नुपर्ने बिरामीलाई जिल्ला तहमै उपचार गरिने छ भने धेरै जलन भएको अवस्थामा जिल्ला अस्पतालले केन्द्रीय तथा प्रादेशिक अस्पतालमा रिफर गर्ने छन् । ७७ वटै जिल्लामा प्राथमिक तह निर्धारण गरेर जलनका बिरामीको उपचार हुने छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जलन उपचारमा प्रादेशिक अस्पताल र केन्द्रीय अस्पताललाई सेकेन्डरी अस्पतालका रूपमा राखिएको छ । जिल्लामा उपचार हुन नसक्ने बिरामी प्रादेशिक तथा केन्द्रीय अस्पतालमा रिफर हुँदा पनि बिरामीको सम्पूर्ण उपचार निःशुल्क हुने छ ।
प्रवक्ता डा. बुढाथोकीले दोस्रो तहका अस्पतालमा उपचार हुन नसकेको अवस्थामा कीर्तिपुर अस्पतालमा रिफर गर्ने गरी कार्यविधि बनाइएको बताए । कीर्तिपुर अस्पतालमा भने सक्नेलाई केही प्रतिशत तिराएर र नसक्नेका लागि भने सम्पूर्ण उपचार निःशुल्क हुने व्यवस्था मिलाइने छ । निजी अस्पतालमा उपचारका लागि गएको हकमा भने जलनको निःशुल्क उपचार हुने छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक ७६ हजार जना जलनका बिरामी थपिने गरेका छन् ।