काठमाडौँ: जाउलाखेलस्थित अल्का अस्पतालका सञ्चालकबीचको विवाद सतहमा आएको छ । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा (तिलकपुवार थापा) पक्ष र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद सतहमा आएको हो ।
विवादको चुरो कुरो शेयर बाँडफाड कै भएको बताइएको छ ।अस्पतालले आज सार्वजनिक गरेको बार्षिक साधारण सभाको सूचनामा सञ्चालक रामेश्वर थापालाई अनिबार्य उपस्थितिका लागि आग्रह गरिएको छ । साधारणसभामा शेयर सदस्यलाई उपस्थितिको लागि आग्रह गर्नु सामान्य हो तर यहाँ भने उनलाई ३५ दिने सूचना पत्रिकामा प्रकाशित गर्ने निर्णय बमोजिम अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको छ ।
सूचनामा थापाकै कारण आर्थिक वर्ष २०७९/८० को बार्षिक साधारणसभा यसअघि तीन पटक राख्न खोजिए पनि बस्न नसकेको उल्लेख छ । पछिल्लो पटक गत ५ भदौमा बोलाइएको साधारण सभा बैठक कोरम नपुगेर स्थगित भएपनि बैठकले ३५ रामेश्वर थापाको नाममा दिने सूचना जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज सूचना जारी गरिएको हो ।
मिडिया उद्यमी, बायुसेवा सञ्चालक समेत रहेका क्याप्टेन थापाले एसएसजी इन्भेष्टमेन्ट प्रालिको नाममा अल्का अस्पतालको ४९ प्रतिशत शेयर लिएको बताइएको छ । उनी अहिले पनि त्यहाँको बोर्ड अफ डाइरेक्टर रहेका छन् । ५१ प्रतिशत शेयर हिस्सा भने कुमार थापा र उनकी श्रीमती विद्या श्रेष्ठ थापा रहेका छन् । अध्यक्ष सहित तीन जनाको बोर्ड अफ डाइरेक्टरमा कुमारकी श्रीमती विद्या श्रेष्ठ थापा पनि रहेकी छन् ।
क्याप्टेन थापाले लामो समय देखि अस्पतालको बहुमत शेयरमा आफू संग रहेको दावी गर्दै आएका छन् । उनको यो विवाद कम्पनी रजिष्ट्रार कार्यालय देखि अदालतसम्म पुगेको हो । तर यसपटक अध्यक्ष थापाले शेयर विवादलाई टुग्याउने हिसावले १५ असोजका लागि साधारणसभा बोलाएको बताइएको छ । कुमार थापा नेतृत्वमा सञ्चालित १०० शैय्याको अल्का अस्पतालमा ११ साउन २०७६ मा क्याप्टेन थापा ठूलो लगानीका साथ मिसिएका थिए । सुरुका दुई वर्ष विवाद नभए पनि त्यसपछि भने सञ्चालकबीच विवाद बढ्दै गएको हो ।