काठमाडौं: नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले दुई वर्षअघि पाएको मिर्गौला प्रत्यारोपणको अनुमति नवीकरण अन्यौलमा परेको छ । अस्पतालले मिर्गौला प्रत्यारोपण सर्जनको रुपमा डा. राकेश बर्मासहितको टिम देखाएर अंग प्रत्यारोपण समितिमा नवीकरणका लागि निवेदन दिएको छ ।
तर, डा बर्मा सुर्य विनायक नगर अस्पतालको कार्यकारी निर्देशक भएर नर्भिकको पनि पूर्णकालीन मिर्गौला सर्जनको रुपमा नियुक्ति लिएको विषय हेल्थआवाजले प्रकाशित गरेपछि समिति तत्काल नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमति नवीकरण प्रक्रियाबाट पछि हटेको पाइएको छ । आगामी १० दिनपछि नर्भिकको मिर्गौला प्रत्यारोपण अनुमतिको म्याद सकिदैंछ ।
डा. बर्मा सुर्यविनायक अस्पतालको कार्यकारी निर्देशक रहेको सो अस्पतालको वेवसाइटमा नै उल्लेख छ । साथै, उनी नर्भिकको पूर्णकालीन मिर्गौला प्रत्यारोपण सर्जन रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले हेल्थआवाजलाई बताएका थिए । समितिका एक सदस्यले हेल्थआवाजलाई दिएको जानकारीअनुसार मिर्गौला प्रत्यारोपण अनुमति नवीकरणका लागि नर्भिक, किष्ट मेडिकल कलेज, मेडिसिटी र काठमाडौं मेडिकल कलेजले निवेदन पेश गरेका थिए ।
मंगलबार बसेको समितिको बैठकले नर्भिकबाहेक अन्य तीन अस्पतालको नवीकरण प्रक्रिया अगाडि बढाउने र नर्भिकको थप अध्ययन गर्ने निर्णय गरेको छ । ‘नवीकरण प्रक्रियामा आएका चार अस्पतालमध्ये तीन वटाको प्रक्रिया अगाडि बढाउने निर्णय भयो,’ समितिका ती सदस्यले भने, ‘नर्भिकको विषयमा मुख्य सर्जनकै कुरा आएको हुँदा थप अध्ययन गर्ने भन्ने भएको छ ।’ समितिका अर्का एक सदस्यकाअनुसार एकै चिकित्सक सरकारी र प्राइभेट अस्पतालमा दुवै ठाउँमा पूर्णकालीन भएको समचार आएपछि अंग प्रत्यारोपण जस्तो गम्भीर विषयमा थप मापदण्ड तय गरेको बताए ।
उनकाअनुसार अब कुनै पनि नयाँ अस्पताललाई अंग प्रत्यारोपण अनुमति दिँदा या नवीरकण गर्दा सो टिममा संलग्न सबै विधाका चिकित्सकहरुले कम्तिमा दुई वर्ष त्यही संस्थामा काम गर्ने स्वघोषणाको सक्कल प्रति समितिमा बुझाउनुपर्नेछ । ‘अंग प्रत्यारोपण जटिल विधा हो, त्यसमाथि एक ठाउँमा जिम्मेवार रहेको चिकित्सक अर्को ठाउँमा पनि काम गर्ने भन्ने कुरा आएपछि यसलाई करेक्सन गर्न लागिएको हो,’ ती सदस्यले भने, ‘नर्भिकको समाचार त्यस्तो आयो । किष्टमा एउटा चिकित्सकले ट्रान्सप्लान्ट गर्ने भनेर अर्कैले गरेको भनेर उजुरी नै परेको छ । अहिले नवीकरण प्रक्रियामा रहेका केही अस्पतालले बुझाएको डकुमेन्टमा राखिएका चिकित्सक विदेशमा छन् ।’