काठमाडौँ: वात्सल्य नेचुरल आइभीएफले ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा आफनो नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ । मेडिसिटी अस्पतालसंगको सहकार्यमा वात्सल्यले आफ्नो ८ औं वार्षिकोत्सवको अवसर समेत पारेर सोमबार देखि नयाँ क्लिनिक सञ्चालनमा ल्याएको हो ।
सोमबार क्लिनिकको उद्घाटन गर्न नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतो पुगेका थिए । वात्सल्यका ब्राण्ड एम्बेसडरका रुपमा २०२४ का मिसन नेपाल बिजेताहरु आश्माकुमारी केसी, सुमना केसी र करुणा रावतको साथमा रिवन काटेपछि बोल्दै अध्यक्ष महतोले वात्सल्यसंग पहिलो सहकार्य भएको बताए ।
उनले नेपालको विकासमा शिक्षा र स्वास्थ्यको विशेष भूमिका हुने बताउँदैं नेपाललाई शिक्षा र स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय हब बनाउनुपर्नेमा जोड दिए । ‘स्वास्थ्यमा अन्तर्राष्ट्रिय हब बनाउन वात्सल्यको भूमिका पनि रहन्छ,’ उनले भने । अर्को प्रसंगमा उनले बच्चाको चाहना भएर पनि प्राकृतिक रुपमा हुन नसक्ने दम्पत्तीको लागि वात्सल्यको सेवा वरदान सावित हुने बताए ।
उनले बच्चा नहुनुको पीडा ती दम्पत्तीलाई मात्र थाहा हुने भन्दै वात्सल्यले सन्तान नहुनेका लागि ठूलो सेवामुखी काम गरिरहेको जानकारी दिए । वात्सल्यले वार्षिकोत्सवकै अवसर पारेर आफनो क्लिनिकको रिब्रान्डीङ गर्दै नयाँ कलर तथा नयाँ विषयवस्तु र नयाँ नारा ‘नयाँ आशा, नयाँ जीवन’ अघि सारेको छ ।
वात्सल्यका प्रवन्ध निर्देशक प्रशान्त सुवेदीले मेडिसिटी हस्पिटल परिसरमा वात्सल्यले स्वतन्त्र रुपमा इफर्टिलिटी सेवा प्रदान गर्न सुरु गरेको बताए । उनले भने, ‘यो सहकार्य हामीले बिरामीको सुरक्षा र ललितपुरका सेवाग्राहीलाई ध्यान दिएर गरेका हौं ।’
वात्सल्यको यसअघि नै नक्साल, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलमा यसअघि नै शाखा क्लिनिक सञ्चालनमा आईसकेको छ । पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको जनाइएको छ । वात्सल्यले विगत ८ वर्षमा ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिन सकेको पनि जनाएको छ ।