ललितपुर: विभिन्न प्रलोभनमा देखाएर भारतको कलकत्तामा पुर्याई मृगौला बेचबिखन गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदीगाउँपालिका–२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।
पीडितको उजुरीकोआधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितको स्वाथ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्याएको खुल्न आएको छ ।
थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परीवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र समेतका झुटा कागजातहरु बनाई धम्की दिई रकम समेत नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको खुल्न आएको छ ।
गत फेब्रुअरी महिनामा ती पुरुषबाट मिर्गौला झिकिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्र बताउँछन्। मिर्गौला झिक्नुअघि डराएर ती पुरुष नेपाल आएर एक–डेढ महिना बसेका थिए। फेरि खत्री र घलानले फकाएर भारत पुर्याएको मिश्र बताउँछन्। ‘१० लाख दिन्छु भने पनि अहिलेसम्म उनलाई करिब तीन लाख रुपैयाँ मात्रै दिएको पत्ता लागेको छ,’ उनले भने।
मिर्गौला झिकेको लामो समयसम्म पूरै रकम नपाएपछि ती पुरुष प्रहरीको सम्पर्कमा पुगेका थिए। यो कार्यमा खत्री र घलानबाहेक संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। मंगलबार खत्री र घलानलाई जिल्ला अदालत काठमाडौंबाट ९ दिन हिरासतमा राख्न अनुमति लिएर घटनाको थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी अधिकृत बताउँछन्।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।