Swasthya Awaj
कोशी अस्पताललाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

विराटनगर: विराटनगरस्थित कोशी अस्पताल विकास समितिले विना प्रतिस्पर्धा आफूखुसी ९ जना चिकित्सकलाई नियुक्ति गरेको विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ । गत भदौ ११ गते स्वास्थ्य मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार प्रतिस्पर्धा बिना नै चिकित्सक नियुक्ति गरेको विषयमा याथाशीघ्र जवाफ पठाउन मन्त्रालयले कोशी अस्पताललाई पत्र पठाएको हो ।

मन्त्रालयले कोशी अस्पतालको आवश्यक विभागमा जनशक्ति नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र बिना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिनुको औचित्य के हो ? कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाइ जवाफ पठाउनुपर्ने जनाएको छ ।‘सञ्चारमाध्यममा कोशी अस्पतालमा बेथिति शीर्षकमा आवश्यक विभागमा चिकित्सक नभएको, भएको स्थानमा जनशक्ति थुपारिएको र विना प्रतिस्पर्धा जनशक्ति भर्ना गरिएको भन्ने विषयमा मन्त्रालयको  ध्यानाकर्षण भएको छ ।

उक्त समाचार बमोजिम सत्य तथ्य के हो र विना प्रतिस्पर्धा चिकित्सक भर्ना गर्नुपर्ने विषयको औचित्यता के हो र कुन कानुन बमोजिम भर्ना गरिएको हो खुलाई यथाशीघ्र जवाफ पठाउनु हुन यस मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०५।११ को निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयले अस्पताललाई पठाएको पत्रमा उल्लेख छ । 

भदौ २ गते कोशी अस्पताल विकास समितिले ९ जना चिकित्सकलाई ठाडो नियुक्ति दिएको विषय सार्वजनिक भएको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत विना प्रतिस्पर्धा सिधै नियुक्त गर्ने निर्णय गरेको थियो । जस अनुसार नाक, कान, घाँटी रोग विशेषज्ञ डा.रौनक दाहाल,कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.ज्योति कार्की, पेटरोग विशेषज्ञ डा.रोहित यादव, मनोचिकित्सक डा.सविता खड्का, एनएसथेसियाहरु डा.प्रवीण झा र डा.राजन राईलाई नियुक्ति दिइएको थियो ।

यसैगरी मेडिकल अफिसरमा डेन्टल विभागमा कार्यरत रहने गरी डा. निमिसा दास, आकस्मिक कक्षको लागि डा.मनोज मनिष साह र आइसियूको लागि डा. विशका गुरुङलाई नियुक्त गरिएको छ । उनीहरूलाई सुरुमा अस्पताल विकास समितिले एक महिना करार अवधि दिएर नियुक्त गरेको छ । 

अस्पताललाई भर्ती केन्द्र नबनाउन मन्त्रीको निर्देशन

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नियमभन्दा बाहिर गएर चिनजानको भरमा अस्पतालमा चिकित्सक र कर्मचारी नियुक्ति गरेर भर्ती केन्द्र नबनाउन कोशी अस्पताललाई निर्देशन दिएका छन् ।

कोशी अस्पताल विकास समिति अध्यक्ष डा.फरवर्ड सिलवाल र मेसु डा.रविराज सिंहलाई साथमा राखेर मन्त्री पौडेलले कोशी अस्पतालमा चिनजानको आधारमा जथाभावी कर्मचारी नियुक्ति गर्ने कार्य बन्द गर्नुपर्ने बताएका हुन् ।

कोशी अस्पतालमा क्यान्सर रोगको सेवा विस्तारसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका लागि विराटनगर आएका मन्त्री पौडेलले विज्ञापन गरेर खुल्ला प्रतिस्पर्धाबाट मात्रै चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गर्न निर्देशन दिए । स्वास्थ्य संस्थामा कुनै पनि नियम रहेन भने यो देशमा कतै पनि नियम नरहने उनको भनाइ थियो । उनले विकास समितिको आम्दानी पारदर्शी बनाउन पनि निर्देशन दिए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले कोशी अस्पताललाई  मागिखाने भाँडो नबनाउन आग्रह गरेका छन् । जनतालाई सेवा दिन ठाउँ बनाउनुपर्नेमा उनले जोड दिए । ‘अस्पतालमा केही बिग्रियो भने हामीले भन्ने मेसु र अध्यक्षलाई हो ।

कोशी अस्पताल देशको अस्पताल हो । भएको साधन स्रोतको भरपुर उपयोग गरेर सेवा दिनुपर्दछ,’ उनले भने, ‘काम गर्नुभएको छ । अझै परिष्कृत भएर काम गरिदिनुभयो भने जनताले सहज सेवा पाउने थिए ।’

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update