काठमाडौँ: कानुनी व्यवस्थाको वेवास्ता गर्दै चुरोट उत्पादक कम्पनीले गर्न लागेको साहित्यक कार्यक्रम प्रायोजनका विषयमा सरकार मौन देखिए पनि नागरिक समाज तथा गैर सरकारी संस्थाहरुले विरोधको आवाज उठाई रहेका छन् । पछिल्लो पटक नसर्ने रोगविरुद्ध काम गर्दै आएका दुईवटा संस्था नेपाल अर्वुदरोग निवारण संस्था र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपालकै प्रमुख चुरोट उत्पादन गर्ने कम्पनी सूर्य नेपालको मुख्य प्रायोजनमा हुन लागेको सूर्य नेपाल काठमाडौँ कलिङ्गा लिटरी फेस्टिवल – २०२४ को विरोध गरेका हुन् ।
आगामी २२ र २३ भदौमा ललितपुरमा हुने सो कार्यक्रममा नेपालसहित भारत भुटान बंगलादेश र श्रीलंका लगायतका देशका साहित्यकार तथा सार्वजनिक छवि बनाएका व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवा र नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम निर्देशक डा जयकुमार गुुरुङले सूर्य नेपालको लोगोमा कार्यक्रम गर्न नपाईने भन्दै यस तर्फ सरकार तथा सम्वन्धित सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । आज एक संयुक्त विज्ञप्ती जारी गर्दै यी दुई संस्थाले चुरोट कम्पनीको प्रायोजनमा हुन लागेको कार्यक्रममा सहभागि नहुँन सार्वजनिक व्यक्तित्वहरुलाई समेत अपिल गरेका छन् ।
उनीहरुले सार्वजनिक व्यक्तित्व भएका व्यक्तिले चुरोट कम्पनीद्धारा प्रायोजित कार्यक्रममा सहभागी हुनु कानून विपरितको कार्य भएको समेत उल्लेख गरेका छन् ।
के छ कानूनी व्यवस्था ?
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’
यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न किन आवश्यक छ ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ अर्थात् प्रति घण्टा ४ जना भन्दा धेरै मानिसहरुले ज्यान गुमाईरहेका छन् । जुन संख्याले नेपालको जम्मा मृत्युको १९.४१ प्रतिशत ओगट्छ ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरु जस्तै क्यान्सर, श्वासप्रश्वास सम्वन्धि रोगहरु लगायत विभिन्न मुटु सम्बन्धि रोगहरु लाग्ने गर्दछ ।
त्यसलाई नियन्त्रण गर्न सरकारले १३ वर्ष अघि सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वनमा ल्याइसकेको छ ।
नीतिगत रुपमा बलियो हुँदा हुँदै पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिन्छ । त्यसको ज्वलन्त उदाहरण पछिल्लो पटक हुँदै गरेको कार्यक्रमबारे सरकार मौन रहनु ।