काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढाएको छ । त्रिवि कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।
परिषद्ले आईओएमको डीन नियुक्तिका लागि नाम सिफारिस गर्न ३२ साउनमा प्राडा कृष्णकुमार(केके) ओलीको संसोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य रहेका छन् ।
त्रिवि आईओएममा डीन रहेकी प्राडा दिव्या सिंह शाहको चार वर्षे कार्यकाल गत ३ असारमा सकिएको थियो । तर नयाँ नियुक्ती हुन नसक्दा उनलाई नै अर्को व्यवस्था नहुँदासम्मका लागि भन्दै पुरानै जिम्मेवारीमा रही काम गर्न भनिएको थियो । अहिले पनि पनि प्राडा शाहले डीनको रुपमा काम गरिरहेकी छन् ।
सोमबार जारी सूचनामा ‘त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रि.वि.का निम्नलिखित अध्ययन संस्थान र संकायका डिन पदका लागि योग्य उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा विनियममा उल्लेखित आवश्यक कागजातहरुका साथै आशयपत्र [email protected] इमेलमा पेश गर्नुहुन अनुरोध छ,’ भनेर सूचना जारी गरेको छ ।
समितिले तोकिएको अवधी भित्र आएका आशयपत्रको अध्ययन गरी ५ जनालाई सर्टलिष्टमा राख्ने र तीमध्येबाट ३ जनाको नाम बर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषदलाई सिफारिस गर्ने छ । परिषदले ती ३ जनामध्ये एक जनालाई डीन पदमा नियुक्ती दिने छ ।
यता त्रिविले जारी गरेको नयाँ विनियममा विद्यावारिधिलाई समेत नम्बर राखिएपछि प्रतिस्पर्धामा उत्रिन खोजेकाहरु असन्तुष्ट भएका छन् ।
‘डीनको लागि प्राध्यापक वा सहप्राध्यापक योग्यता तोकिएको छ । तर छनौटको मापदण्डमा पिएचडीलाई थप नम्बर दिने भनेर घुसाईएको छ । यो आईओएमको हकमा व्यवहारिक हुँदैन । यसलाई सच्याउनु पर्छ,’ एक जना प्राध्यापकले भने ।
डीन पदका लागि के के छन् मूल्यांकनका आधारहरु ?