Swasthya Awaj
विपी कोइराला क्यान्सर अस्पतालले ३ प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धि सम्झौता गर्यो

काठमाडौं: सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । बुधबार अस्पतालमा यस सम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि यस्तो सेवाका लागि विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ ।

यससँगै तीन प्रादेशिक अस्पतालमा सेवा सुरु भएको हो । गण्डकी र मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हालेसँगै राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सात वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो

त्यसलगत्तै २७ साउनमा आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए । सेतीसँग क्यान्सर उपचार सेवा उपलब्ध गराउने सम्झौतासँगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा आरम्भ गरेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update