Swasthya Awaj
प्रधानमन्त्रीको स्वास्थ्यका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह अन्तिम समयमा स्थगित

काठमाडौँः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित गरिएको प्रधानमन्त्री सचिवालयले बताएको छ ।

‘अन्तिम समयमा कुुलपति सहभागी हुन नसक्ने जानकारी आयो । त्यसपछि स्थगित गर्नुको विकल्प रहेन,’ प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले भने । उनले आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने जानकारी दिए ।

प्रतिष्ठानले मध्यरात १२ बजे सूचना जारी गर्दै दीक्षान्त समारोह स्थगित भएको घोषणा गरेको थियो । स्रोतका अनुसार शनिबार राती १० बजे प्रधानमन्त्री ओलीले आफू आउन नसक्ने भन्दै दीक्षान्त समारोह स्थगित गर्न लगाएका थिए । प्रधानमन्त्री ओलीले नै अर्को दीक्षान्त समारोह २८ कात्तिकका दिन राख्न उपकुलपतिलाई निर्देशन दिएका हुन् ।

‘यता हाम्रो सबै तयारी पुरा भएको थियो । राती कुलपति ज्यू आउन नमिल्ने जानकारी आयो । त्यसपछि कार्यक्रम रद्ध गर्नु परयो,’ उपकुलपति डा. रावलले भने ।

यसपटक प्रथम दीक्षान्त समारोहमा कुल ५६ जना दीक्षित हुँदै थिए । स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो व्याच गरी ३८ जना, बीएमएसमा पनि दुई ब्याचको गरी १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपी ३ जना, एमडी एनेस्थेसिया र पेडियाट्रिकमा १ गरी कुल ५ जना थिए । ती मध्ये शनिबारसम्म २७ जना जुम्ला पुगिसकेका थिए ।

उपकुलपति डा रावलले दीक्षान्त समारोह नभएपनि पूर्व सूचना अनुसारको आँखा उपचार केन्द्रको उद्घाटन तथा विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ)बाट प्राप्त इएमआर सिस्टम हस्तान्तरण कार्यक्रम भने आज सम्पन्न हुने बताए ।

तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालन हुने जुम्लाको आँखा उपचार केन्द्र उद्घाटन गर्न बरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुईत तथा तिलगंगाका प्रतिनिधिहरु जुम्ला पुगिसकेका छन् ।

यस्तै स्वास्थ्य सचिव डा. रोशन पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा तथा मन्त्रालयका प्रतिनिधिहरु पनि शनिबार नै जुम्ला पुगेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update