Swasthya Awaj
सुदूरपश्चिमको गेटा मेडिकल कलेजमा एमबीबीएस पठनपाठन कहिले सुरु हुन्छ ?

काठमाडौं: देशका ६ वटै प्रदेशका सरकारी संस्थाले चिकित्सा शास्त्रमा एमबीबीएसका लागि अनुमति पाएपछि सुदूरपश्चिमको खोजी भएको छ। आमजनमा प्रश्न छ  सबै प्रदेशका स्वास्थ्य संस्थालहरुले पाउँदा सुदूरपश्चिम प्रदेशले किन पाइरहेको छैन ?सुदूरपश्चिममा सरकारले चिकित्सा शिक्षा अध्ययन/अध्यापनका लागि गेटा मेडिकल कलेज हो । जुन अहिले 'सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय'को भुलभुलैयामा अड्किएको छ। सुदूरपश्चिममा चिकित्सा शास्त्र अध्ययन कहिलेदेखि सुरु हुन्छ ? भन्ने प्रश्नको उत्तर यसको वर्तमान अवस्थासँग तुलना गरेर खोज्नुपर्छ।

चिकित्सा शास्त्र अध्ययन/अध्यापन गराउनका लागि गेटा मेडिकल कलेजले ३०० सय शैय्याको अस्पताल चलाएको तीन वर्ष नाघेको हुनुपर्छ । भर्खरै सुरु भएको अस्पतालले अहिले जम्मा ५० बेड अस्पतालको अनुमति पाएको छ । त्यसअनुसार अस्पताल सञ्चालनमा छ। अहिले नै गेटाले ३०० बेडको अस्पताल सञ्चालन अनुमति प्राप्त गर्‍यो भनेपनि यहाँ एमबीबीएस पढाइ सुरु हुन कम्तिमा तीन वर्ष लाग्ने निश्चित छ । त्यसका लागि अस्पतालको नेतृत्वले पहल गरिरहे पनि सरकारले त्यसको सुनुवाइ गरेको छैन।

सुदूरपश्चिम विश्वविद्यालय एक सपना

नामका हिसाबले सुरुमा गेटा मेडिकल कलेज, त्यसपछि दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान र अब सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय बनिसकेको छ। ७ अर्ब बराबरको भौतिक संरचना बनिसकेको छ। नामको अवस्था हेर्दा प्रगति उन्मुख देखिएपनि कामको गति अझै सुस्त छ। चिकित्सा शिक्षा विश्वविद्यालय बनाउने विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा पुगेर थन्किएको छ।

अहिले जे-जति प्रगति भइरहेको छ, त्यो पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि परेको संकटको मोचन थियो। चुनावअघि आफ्नै गृह जिल्ला डडेलधुरा पुगेका बेला त्यहाँ मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेका थिए। 

त्यो समय प्रधानमन्त्री रहेका देउवाले मेडिकल कलेजको संरचना निर्माण भइसकेको गेटालाई भन्दा गृह जिल्लाका लागि जोड गरेपछि विरोध भएको थियो। कैलाली- ५ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी देउवापत्नी आरजु राणाविरोधी माहोल बनेपछि गेटामा अस्पताल सुरु गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट गरियो। डा प्रमोद जोशीलाई अस्पताल निर्देशक नियुक्त गर्दै अस्पताल सञ्चालन थालियो। डा जोशीलाई जिम्मेवारी दिएपनि पूर्वघोषणा अनुरुपको बजेट नदिइएपछि उनले त्यहाँ लामो समय बस्न सकेनन् र काठमाडौं फर्किएका छन्। अहिले हाडजोर्नी विशेषज्ञ डा विप्लव सापकोटाको नेतृत्वमा ५० बेडको अस्पताल सञ्चालनमा छ। 

तत्कालीन प्रधानमन्त्री देउवाले प्रतिष्ठान बनाउने भन्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी डा जोशीलाई त्यहाँ सरुवा गरेका थिए। तर, शिक्षा मन्त्रालयका अधिकारीले स्वास्थ्य मन्त्रालय मातहत रहने प्रतिष्ठान बनाउने कुरामा सहमति जनाएनन्।

देउवा पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए। स्वास्थ्य मन्त्रालय मातहत जान नदिन सक्रिय शिक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारीले चिकित्सा शिक्षा विश्वविद्यालयको सपना देखाइदिए।

अहिलेको अवस्था हेर्दा 'सुदूरपश्चिम चिकित्सा विश्वविद्यालय एक सपना'को ठाउँमा आइपुगेको छ। किनकि शिक्षा मन्त्रालयले यस विश्वविद्यालयको ३०० बेडको अस्पताल बनाउन चाहिने बजेट छुट्याउन  सकिरहेको छैन। जबसम्म ३०० बेड अस्पताल सुरु हुँदैन, त्यो दिनसम्म सुदूरपश्चिममा एमबीबीएस कहिले सुरु हुन्छ भन्ने उत्तर प्राप्त हुँदैन।

शिक्षामा मात्रै होइन, सेवामा पनि उस्तै 
स्वास्थ्य शिक्षामा मात्रै होइन, सेवामा सवैभन्दा पछि परेको प्रदेश सुदूरपश्चिम देखिएको छ। स्वास्थ्य मन्त्रालयको जारी गरेको वार्षिक समिक्षामा प्रस्तुत 'नेपाल हेल्थ फ्याक्ट सीट २०२३'ले उक्त अवस्था देखाएको हो।

१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्। लुम्बिनी प्रदेशमा ६,  गण्डकीमा ३, मधेशमा ३ र कोशी प्रदेशमा ३ वटा मेडिकल कलेज छन्। 

सार्वजनिक अस्पताल सुदूरपश्चिममा जम्मा १८ वटा रहेका छन्। जबकी कर्णालीमा २८ र बागमतीमा ५४ रहेको तथ्यांकमा देखिएको छ। यसैगरी १०० देखि ३०० बेडका जनरल अस्पताल पनि सुदूरपश्चिममा जम्मा २ छन् । जबकी कर्णालीमा तीन छन् भने कोशीमा ११, मधेशमा १६, बागमतीमा २६,  गण्डकीमा ९ र लुम्बिनी १२ रहेका छन्। स्वास्थ्य खवर

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update