Swasthya Awaj
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीले दिए राजिनामा, राजिनामाको कारण खास खुलेन

काठमाडौं: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । शुक्रबार डा लोहनीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलमार्फत राजीनामा बुझाएका हुन् । डा. लोहनीले राजीनामा दिएको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘उहाँ (मन्त्री) नभेटेपछि सचिवालयमा छोडेर जानुभएको छ ।’ १३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो । सो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जानकारी दियो ।

डा. लोहनीलाई राजीनामा दिएको विषयमा जानकारी लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । तर, उनले आफ्नो फेसबुक पेजमा भने ‘जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर, अहिलेका लागि ………’ लेखेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update