एजेन्सीः ग्याबोनका अनुसन्धानकर्ताहरूले गरेको एउटा अध्ययनका क्रममा जङ्गली गरिलाले खाने र मान्छेले उपचारका लागि प्रयोग गर्ने उष्णप्रदेशीय वनस्पतिहरूमध्ये चार वटामा औषधीय गुण भएको पाएका छन्।
प्रयोगशालामा गरिएको अध्ययनमा ती वनस्पतिहरूमा उच्च ‘एन्टिअक्सिडन्ट’ र ‘एन्टिमाइक्रोबिअल’हरू विद्यमान रहेको पत्ता लागेको हो। तीमध्ये एउटा ‘सुपरबग’ अर्थात् एक प्रकारको परजीवीसँग लड्न प्रभावकारी देखिएको छ।
‘ग्रेट एप’ समेत भनिने विशालकाय गरिलाहरू औषधिजन्य वनस्पति पहिचान गरेर स्वयंको उपचार गर्ने कार्यका निम्ति चिनिन्छन्। आफ्नो घाउ निको पार्नका निम्ति वनस्पतिको लेदो दल्ने एउटा घाइते ओराङउटान हालै समाचारको विषय बनेको थियो।
हालैको एक अध्ययनका क्रममा वनस्पतिविद्हरूले ग्याबोनको मोउकालावा–डुडु राष्ट्रिय निकुञ्जस्थित वेस्टर्न लोल्यान्ड गोरिलाहरूले खाएका वनस्पतिहरूको विवरण राखेका थिए।
त्यस क्रममा उनीहरूले फाइदाजनक हुने सम्भावना भएका चार वटा रूख छनौट गरेका छन्। स्थानीय उपचारकहरूसँगको कुराकानीमा आधारित भई छनौट गरिएका ती रूखहरूमा ‘फ्रमेजर (सेइबा पेन्टान्ड्रा), जाइअन्ट येलो मल्बरी (मेरिआन्थस आर्बरिअस), अफ्रिकी टीक (मिलिसिआ एक्सेल्सा) र फिग (फिकस) रहेका छन्।
पेटसम्बन्धी समस्यादेखि बाँझोपनसम्मका हरेक प्रकारका समस्याका निम्ति परम्परागत औषधि बनाउनका निम्ति यी रूखका बोक्राहरूको प्रयोग हुन्छ। तिनमा (फिनल) र (फ्लेभोनोइड्स) सहितका रासायनिक र औषधीय गुणहरू विद्यमान छन्।
उत्साहजनक नतिजा
यी चारैवटा वनस्पतिले विभिन्न औषधिले काम नगर्ने अवस्थाका ईकोलाई (पेटमा सङ्क्रमण पैदा गर्न सक्ने ब्याक्टेरियाको समूह) को कम्तीमा एक प्रकारविरुद्ध ब्याक्टेरियाप्रतिरोधी गतिविधि देखाए। खास गरी (फ्रमेजर) को रूखले सबै प्रकारका परीक्षणहरूमा (उल्लेख्य गतिविधि) देखाएको उनीहरूले बताए।
‘यसले गोरिल्लाहरूमा आफूलाई फाइदा गर्ने वनस्पति खाने क्रमको विकास भएको देखिन्छ भने यसले मध्यअफ्रिकी वर्षावनहरूबारे हाम्रो ज्ञानमा रहेको ठूलो अन्तरलाई पनि उजागर गर्छ,’ ग्याबोनका वैज्ञानिकहरूसँगै अध्ययनमा संलग्न यूकेस्थित डरम विश्वविद्यालयका मानवशास्त्री डा. जोआना सेचल बताउँछिन्।
ग्याबोनमा अझै अन्वेषण हुनै बाँकी घना जङ्गलहरू छन्। ती जङ्गलमा जङ्गली हात्ती, चिम्पान्जी र गरिला बस्छन्। त्यहाँका कैयौँ बोटविरूवाबारे विज्ञानसमेत अनभिज्ञ छ। अवैध सिकार र रोगका कारण जङ्गलबाट ठूलो सङ्ख्यामा ‘वेस्टर्न लोल्यान्ड’ गरिलाहरू हराउन थालेका छन्।
तिनीहरूलाई प्रकृति संरक्षणसम्बन्धी निकाय इन्टर्न्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचर (आईयूसीएन)ले ‘अति सङ्कटापन्न प्रजाति’का रूपमा वर्गीकृत गर्दै रातो सूचीमा राखेको छ। यो अनुसन्धान ‘पीएलओएस वन’ जर्नलमा प्रकाशित छ।