काठमाडौँ: प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनु अघिको खाली समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नै सम्हालेका थिए ।त्यसैबेला प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्रीस्तरीयय निर्णय गर्दै डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए ।
सिंहले २६ बैशाखका दिन २३ बैशाख देखि लागू हुने गरी १७ बैशाखमा स्वास्थ्य मन्त्रीस्तरीयण निर्णयबाट अध्यक्ष पदमा नियुक्त भएको पत्र पाएका थिए ।तर, पत्र पाएको एक साता नपुग्दै तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उनको नियुक्त बदर गर्दै अर्का व्यक्ति करुणाकर ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरे ।
गठबन्धन सरकारको प्रधानमन्त्रीले गरेको नियुक्तलाई एक सातामै बदर गरेर स्वास्थ्य मन्त्रीले आफू निकटलाई अध्यक्ष बनाए भन्ने त्यसबेला खबर समेत सार्वजनिक भएको थियो । हुन पनि त्यसबेलाका प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका सिंह माओवादी केन्द्र र पछि नियुक्त भएका ओझा नेपाली कांग्रेस निकट थिए ।
चर्चा चुलिदै गएपछि त्यसबेला बस्नेतको सचिवालयले सिंहलाई हटाउनुको एउटा कारण ‘उनको शैक्षिक योग्यतामाथि प्रश्न उठेकोले हो’ भनेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनै सिंहमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ती खाई अख्तियारको दुरुपयोग गरेको भन्दै विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले डडेल्धुरा अमरगढी नगरपालिका वडा नं २ सोलपारी स्थायी ठेगाना भएका तत्कालीन अध्यक्ष सिंहको शैक्षिक प्रमाणपत्रबारे परेको उजुरीको आधारमा छानविन गर्दा प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको बताए ।
उनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सिंहले त्यसबेला नियुक्ती, ओहोदाका, लाभ र सुविधा प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिमाना सजाय हुने माग दावी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको बताए ।
त्यसो त सिंह सात दिन मात्रै अध्यक्ष भएका होइनन् । त्यस अघि पनि एक कार्यकाल डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष भईसकेका थिए । डडेल्धुरा पटक पटक प्रधानमन्त्री भईसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला समेत हो ।