विराटनगर: कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
सभामा बोल्दै मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्याय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएको बताए । मुख्यमन्त्री कार्कीले प्रदेशको ठूलो कोशी अस्पताल संघले आफैं मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाई भएको बताए । तर, अब एक वर्षभित्र विश्वविद्यालयका लागि अस्पताल स्थापना गरिसक्ने बताए । कुलपति कार्कीले भने, ‘अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरू गरिसकेको हुनेछ, सरकाले सकभर भएकै अस्पतालमध्येबाट नभए नयाँ स्थापना गरेर भएपनि अस्पताल हस्तान्तरण गर्नेछ ।
मुख्यमन्त्री कार्कीले चार वर्षअघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगति छोटो समयमा पनि सन्तुष्ट रहेको बताए ।मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आफ्नै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको बताए । उनले चाँडै अस्पतालको प्रबन्ध गरी हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरे ।
कोशी प्रदेश सरकारले आफ्नै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यायले आफ्नो अस्पताल नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन । मनमोहनले तीनवटा स्कुल स्थापना गरेर ईन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यावस्थापन विषयमा स्नातकोत्तरको कक्षा सञ्चालन गरिसकेको छ ।