काठमाडौँ: शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित शहरी स्वास्थ्य केन्द्र मालेपाटनमा अहेव चौथो तहमा २०६८ साल देखि कार्यरत शोभा उप्रेतीको एसएलसी तहको शैक्षिक योग्यता नक्कली भएको अख्तियारको दावी छ । उप्रेतीले सोही प्रमाणपत्र पेश गरी २०६८ साल देखि २०७८ सालसम्म अहेव पदमा नियुक्ती लिई ओहोदा, लाभ र सुविधा लिएको आरोप अख्तियारको छ ।
अख्तियारले आज विशेष अदालतमा दायर गरेको रिटमा उप्रेती माथि भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर उल्लेख गरिएको छ ।
यस्तै साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन माग दावी लिई आज विशेष अदालतमा काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।