Swasthya Awaj
अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल, महत्वपूर्ण  सात बिषयमा सहमती

काठमाडौं: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसिहत मन्त्रालयका पदाधिकारीहरुबीच छलफल भएको छ। भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउने विषयमा पनि लामो छलफल भएको थियो। अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको बताइएको छ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माणलाई अघि बढाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिए। नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधासहित अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण आवश्यक भएकाले वीर अस्पताललाई थप विस्तार गर्न लागिएको उनले बताए।

स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने बताए। बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमालगायतक विषयमा छलफल भएको थियो।

यसका साथै वीर अस्पताललाई जलन उपचारका लागि डेडिकेटेड अस्पतालको रूपमा (जलन उपचारको सेन्टर बनाएर) विकास गर्ने र उपचार सेवा सहुलियतपूर्ण प्रदान गर्ने तथा जलन उपचारको सेवालाई सहुलियतपूर्ण उपचारको सुनिश्चित गरि सातै प्रदेशमा विस्तार गर्ने, हालसम्म स्वास्थ्य सेवा सम्बन्धी राज्यको दायित्व अन्तर्गतका; बीमा, ८ प्रकारका कडा रोग, डाइलासिस, आमा सुरक्षा कार्यक्रम लगायतका शिर्षकमा बाकीं रहेको बक्यौता रकम निकासा गर्न, हाल भुक्तानी के कति बाकी छ सो को विवरण स्वास्थ्य मन्त्रालयले पठाउने र अर्थ मन्त्रालयले फर्छ्यौटको दायित्व छिटो अघि बढाउने विषयमा पनि छलफल भएको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा क्यान्सर उपचारको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले गरेको कार्य प्रति अर्थमन्त्रीले सराहना प्रकट गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

यी हुन् दुई मन्त्रीसहित मन्त्रालयका पदाधिकारीबीच भएका छलफलका सात विषय

१.    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अघि सारेका कार्ययोजनामा छलफल।

२.    अन्तरमन्त्रालयका आवश्यक कामकारवाहीमा सहजीकरण गर्ने।

३.    न्याम्सको डीपीआर तथा वीर अस्पतालको विस्तार/निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको आधारमा विज्ञापन गरी उत्कृष्ट ताको आधारमा छनोट गरि आवश्यक प्रक्रिया अघि बढाउने स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले अघि बढ्न सहमति।

४.    वीर अस्पताललाई जलन उपचारका लागि डेडिकेटेड अस्पतालको रूपमा (जलन उपचारको सेन्टर बनाएर ) विकास गर्ने र उपचार सेवा सहुलियतपूर्ण प्रदान गर्ने तथा जलन उपचारको सेवालाई सहुलियतपूर्ण उपचारको सुनिश्चित गरि सातै प्रदेशमा विस्तार गर्ने। 

५.    हालसम्म स्वास्थ्य सेवा सम्बन्धी राज्यको दायित्व अन्तर्गतका; बीमा, ८ प्रकारका कडा रोग, डाइलासिस, आमा सुरक्षा कार्यक्रम लगायतका शिर्षकमा बाकीं रहेको बक्यौता रकम निकासा गर्न, हाल भुक्तानी के कति बाकी छ सो को विवरण स्वास्थ्य मन्त्रालयले पठाउने र अर्थ मन्त्रालयले फर्छ्यौटको दायित्व छिटो अघि बढाउने। 

६.    ओएण्डएमका लागि थप छलफल गरी ठोस नीति तय गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने।

७.    मुटु रोगको उपचार र मानव अङ्ग प्रत्यारोपणको सेवा विस्तारलाई सातै प्रदेशमा पुर्यािउने। क्यान्सर सेवा सातै प्रदेशमा विस्तार।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update