काठमाडौं: नेपालमा क्षयरोग पहिचानका लागि पहिलोपटक पोट्रेबल आर्टिफिर्सिल इन्टेलिजेन्सयुक्त चेष्ट मेसिन भित्रिएको छ। नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले बताए। मेसिन खरिदका लागि नेपाल सरकारलाई ग्लोबल फन्डले आर्थिक सहायता गरेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाको उपस्थितीमा प्रत्येक प्रदेशलाई एक-एक वटाका दरले उक्त मेसिन वितरण गरिएको हो। क्षयरोगमुक्त अभियानमा उक्त मेसिनको प्रयोग गर्ने प्रतिबद्वता प्रत्येक प्रदेशले गरेको डा श्रेष्ठ बताउँछन्। दुई सातासम्मको निरन्तर खोकी तथा क्षयरोगको शंका लागेमा खकार परीक्षण गरौं भन्ने नारा वर्षाैंदेखि प्रयोग हुँदैं आए पनि उक्त मेसिनले नयाँ आयाम थपिदिएको डा श्रेष्ठको दाबी छ।
क्षयरोगको कुनै पनि लक्षण भएको अवस्थामा एक्सरे गरेर मात्रै खकारको परीक्षण गराउँदा हुने अवस्था आएको उनले बताए।
‘यो ब्याट्रीको सहायताले चल्ने एक्सरे मेसिन हो, एकपटक चार्ज गरेपछि यसले २ सय बिरामीको परीक्षण गर्न सक्छ’, ‘मेसिनले दैनिक करिब ४ सय सम्म बिरामीको परीक्षण गर्न सक्छ’, उनले भने।
आर्टिफिसियल इन्टेलिजेन्सयुक्त उक्त मेसिनले नै बिरामीलाई खकार परीक्षण आवश्यक भए, नभएको जानकारी दिने गर्छ। यसको प्रयोग रेडियोलोजिष्ट तथा तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्न सक्ने उनले जानकारी दिए।
उक्त मेसिनको प्रयोगबारेको तालिमका लागि प्रत्येक प्रदेशबाट ४ जना सहभागी गराइएको उनले जानकारी दिए। प्रदेश तथा केन्द्रस्तरका गरी करिब ३२ जनालाई उक्त तालिम दिइएको थियो।
कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक रबिन खड्काले समेत उक्त मेसिन थन्किएर बस्ने अवस्था आउन नदिनका लागि प्रतिबद्वता व्यक्त गरेका छन्। प्रदेशस्तरबाट क्षयरोगमुक्त अभियानमा आएको सकारात्मक टिप्पणाीले सकारात्मक उर्जा प्राप्त भएको डा श्रेष्ठले बताए।
नेपालमा पहिलोपटक भित्रिएको उक्त मेसिन प्रत्येक प्रदेशलाई १/१ वटाका दरले वितरण गरेपश्चात् केन्द्रमा दुईवटा राखिने उनले उनले बताए।
मेसिनको प्रयोगले घर घरमा पहिचान हुनसक्छन् क्षयरोगी
विश्वका धेरै मुलुकहरुमा क्षयरोगको पहिचानमा यस प्रकारको मेसिनको प्रयोग हुँदै आइरहेको छ। यसअघि क्षयरोगको पहिचानका लागि प्रयोग हुने एक्सरे मेसिन स्वास्थ्य संस्थामा मात्रै रहेको स्थिती थियो, अब घरघरमा नै यस मेसिनको प्रयोगले क्षयरोगका बिरामीको पहिचान हुनसक्ने अवस्था आएको छ। तथ्यांक अनुसार नेपालमा लक्षणमा आधारित र खकार मात्रै परीक्षण गरी ७० हजार केश पत्ता लगाउनुपर्नेमा हाल ५८ प्रतिशत मात्रै पत्ता लागेको छ।
पुरानै उपचार विधिको प्रयोगले हामीले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्यको लक्ष्यकरिब असम्भव जस्तै भइसकेको विज्ञ तथा चिकित्सकहरुले बताउँदै आएका छन्। समुदायस्तरमा नै क्षयरोगको पहिचानका लागि एक्सरे गराउन सकेमा यसले क्षयरोगमुक्त नेपाल अभियानमा समेत सहयोग गर्ने देखिन्छ।
हाल क्षयरोगको नियन्त्रणका लागि गाउँघरमा लुकेर बसेका बिरामीहरुलाई ल्याउनु एक चुनौतीका रुपमा देखा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटा बताउँछन्। हाल सरकारले राखेको लक्ष्य भन्दा कम मात्रामा नै क्षयरोगको पहिचान हुँदै आएको छ। यद्यपि उपचारका लागि शंकास्पद बिरामीहरुलाई एक्सरे वा खकार परीक्षण गरेर उपचार ल्याउनुपर्ने प्रावधान रहेको छ।
त्यसमा नयाँ प्रविधिको प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमको प्रयोग गरिने यस मेसिनले क्षयरोगको पहिचानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने महानिर्देशक डा देवकोटाले बताए। ‘मेसिनले बिरामी शंकास्पद क्षयरोगीभित्र पर्छ वा पर्दैन समेत भन्न सक्छ,’ ‘यसको प्रयोगले रोग पहिचानका लागि विशेषज्ञ चिकित्सक कहाँ पुग्नुपर्ने बाध्ययताको समेत अन्त्य भएको छ’, उनले भने।
हाल प्रत्येक प्रदेशलाई एक-एक वटाका दरले मेसिन वितरण गरिएको तथा राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा मेसिनको प्रयोगबारे जनशक्तिलाई ३ तीनको तालिम समेत प्रदान गरिएको उनले बताए। जनशक्तिलाई तालिम प्रदान गरिसकिएकोले मेसिन प्रयोगविहीन हुने अवस्था नआउने उनको दाबी छ