काठमाडौं: अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र प्राकृतिक विपद्लाई मध्येनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले निर्देशन दिएका छन्। कठिन परिस्थितिमा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै, देशभरका सबै अस्पतालका आपतकालीन कक्षलाई थप प्रभावकारी बनाउन भनिएको छ।
'आवश्यक परेमा नियमित सेवा प्रवाहको अवधि वृद्धि गरी सहयोग गर्नका लागि २४ सै घण्टा तयार रहन अनुरोध गर्दछु,' उनले भनेका छन्। औषधिउपचारका आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन्। आपतकालीन औषधीउपचारका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैसँग आग्रह गरेका छन्।
उनले भनेका छन्, 'उद्धार र राहतका कार्यहरूलाई तीव्र बनाउन गृह मन्त्रालय, स्थानीय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ । सबैलाई सुरक्षित रहन, सतर्क रहन र एक आपसमा सहयोग गर्न समेत अनुरोध गर्दछु।'