काठमाडौँ: नेपाल मेडिकल काउन्सिलले लिएको ७० औँ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५.९ प्रतिशत पास भएका छन् । बुधबार (आज) दिउसो काउन्सिलले प्रकाशित गरेको नतिजा अनुसार मेडिकल तर्फ ५१.४ र डेन्टल तर्फ ७२.९७ प्रतिशत उत्तीर्ण भएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार मेडिकल तर्फ १ हजार १६८ जनाले परीक्षाका लागि फारम भरे पनि ३९ जना गयल भएका थिए । तीन जनाको नतिजा वीथहेल्डमा राखिएको छ । कुल १ हजार १२९ जना सहभागी भएकोमा ५७९ जना मात्रै पास भएका छन् ।
यस्तै डेन्टल तर्फ ३०६ जनाले फारम भरेको भए पनि १० जना गयल छन् । कुल २९६ जनाले परीक्षा दिएकोमा २१६ जना उत्तीर्ण भएको डा देवले जानकारी दिए ।
यसपटक परीक्षा हुनु अघि देशभर आएको बाढी पहिरोका कारण परीक्षार्थीलाई अफ्टेरो पर्न सक्ने भन्दै काउन्सिलले हिजो १५ असोजमा दिउसोको सिफ्ट र आज विहानको सिफ्ट छुटेका परीक्षार्थीका लागि सहभागी हुन मौका दिएको थियो । परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा गत १३ अजोज देखि आज सम्म चलेको हो ।