काठमाडौँ: बागमती प्रदेश सरकारले स्वास्थ्यका चार उच्च अधिकारीहरुको सरुवा गरेको छ । गत १६ असोजमा बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका चार जना अधिकारीको सरुवा गरेको हो ।
प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्काका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशक पदमा डा. नरेन्द्रकुमार झाको सरुवा भएको छ ।
एघारौँ तहका उनी यसअघि प्रदेश स्वास्थ्य तालीम केन्द्र बागमती प्रदेशका निर्देशक थिए । तालीम केन्द्रमा भने यसअघि स्वास्थ्य निर्देशनालयमा निर्देशक रहेका दीपक तिवारीलाई पठाइएको छ । उनी पनि एघारौँ तहका हुन् ।
यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको रुपमा डा. अर्जुनप्रसाद सापकोटाको सरुवा भएको छ । उनी यसअघि जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख थिए ।
डा. सापकोटाको आपूर्तिमा सरुवा हुँदा त्यहाँ निर्देशक रहेका डा. बसन्त अधिकारीलाई जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखको रुपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ । उनी पनि एघारौँ तहका हुन् ।