Swasthya Awaj
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन

काठमाडौँ: नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।

एक साताअघि मात्रै अकस्मात् भारी वर्षा हुँदा काठमाडौँ उपत्यकासहित देशका पूर्वी भेगमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकोमा दसैँ नजिकिँदा समेत पानी पर्न छाडेको छैन । तर अब दसैँसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ । 'मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ । र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,' विभागले भनेको छ ।

आइतबार पनि देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रह्यो । विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।

मनसुन कायम रहेको क्षेत्रमा सोमबार र मंगलबार पनि मौसममा आंशिक बदली रहने विभागले जनाएको छ । यो वर्ष गत जुन १० मा मनसुन नेपाल भित्रिएको थियो । विज्ञहरूका अनुसार सरदर मितिभन्दा तीन दिन अगावै मनसुन नेपाल भित्रिएको थियो । नेपालमा औसतमा सरदर एक सय १२ दिन अर्थात् जुन १३ मा सुरु भएर अक्टोबर २ सम्म मनसुन रहने गरेको छ । मनसुन भनेको हावा वहने दिशा परिवर्तन हुनु हो ।

मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एशियामा सम्बन्धित छ । भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बंगालको खाडीबाट मनसुनी हावा आउने गर्छ । हिन्द महासागरको पानी वाफ बनेर हावामा मिसिन्छ । वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेशलगायतका देशतर्फ बहन्छ । तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।

मनसुन भन्ने बित्तिकै धेरै मानिसले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ । नेपालको सन्दर्भमा बंगालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ । त्यसैले यहाँ चिसिएपछि बदली र वर्षाको सम्भावना धेरै रहन्छ । नेपालमा कृषिका लागि मनसुन आवश्यक छ ।

पछिल्लो समय मनसुन भन्नासाथ कृषि प्रणालीभन्दा पनि बाढी, पहिरोलगायतका प्रकोपको चिन्ता धेरै हुने गरेको छ । कुनै ठाउँमा एकै पटक धेरै पानी पर्ने, मनसुनको सुरुमै हिमालतिर पानी पर्ने लगायतका परिवर्तन र सडकलगायतका विकासका कामले बाढी, पहिरोको जोखिम बढाउँदा नेपालमा मनसुनलाई विपद्‌सँग जोडेर हेर्ने गरिएको छ ।

यो वर्षको मनसुनमा काठमाडौँ उपत्यकासहित देशका २५ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूको रेकर्ड ब्रेक हुने गरी अत्यधिक पानी परेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update