Swasthya Awaj
३४ वर्षीया युवा सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिइन्

काठमाडौं: धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । बिहीबार विहान साढे ८ बजे छाउनीस्थित घरमा ३४ वर्षीया युवा सर्जन डा. प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।

‘विहान साढे ८ बजे उहाँले घरमै मृतवस्थामा भेटिएको भन्ने कुरा आएको छ । लगतै श्रीमानले अस्पताल लग्नु भएको रहेछ,’ डिएसपी खड्काले भने, ‘हामीले घटनामाथि थप अनुसन्धान जारी राखेका छौं ।’ डा. प्रतिभाका श्रीमान डा. कविराज भण्डारीले बिहीबार विहान दुःखद् घटना घटेको पुष्टि गरे ।

‘आज विहान घरमै दुःखद् घटना घट्न गयो,’ उनले भने । धादिङ अस्पतालमा मेसु डा. गगन अधिकारीले डा. प्रतिभा घरायसीका कामका लागि भन्दैं एक हप्ताको विदामा बसेको बेला आफूले उक्त घटना भएको थाहा पाएको जानकारी दिए । ‘उहाँ घरायसी कामका लागि भन्दैं विदामा हुनुहुन्थ्यो ।

आज विहान घरमै दुःखद् घटना घटेको भन्ने सुने,’ उनले भने । डा. प्रतिभाको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको उनले बताए । डा. प्रतिभाले वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् ।

रातो बंगला स्कुल पढेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी हुन् । रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् । भारतको गंगा अस्पतालबाट माइक्रो सर्जरी सम्बन्धि फेलोसिप गरेकी  उनी सर्जिकल सोसाइटी नेपाल सदस्य समेत थिइन् । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update