काठमाडौँः दशैको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहँदा अनुगमन–नियमन गर्ने निकाय तथा सरकार मूकदर्शक देखिएका छ । निरन्तर मूल्यवृद्धि नभएको दैनिक उपभोग्य सामग्री नै खासै छैन । गत वर्ष दसैं अगाडि ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो ३८ रुपैयाँ थियो । अहिले बढेर १ सय ४५ रुपैयाँ पुगेको छ । यस्तै, रहर दाल गत वर्ष असोजमा प्रतिकिलो २ सय ७० रुपैयाँमा पाइन्थ्यो, अहिले ३ सय १० रुपैयाँ तिर्नुपर्छ । गत वर्ष प्रतिकिलो ७४ रुपैयाँमा पाइने प्याजलाई अहिले १ सय १५ रुपैयाँ पर्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार प्रायः जसो तरकारीको मूल्य न्यूनतम २० प्रतिशतले वृद्धि भएको छ । कतिपय तरकारीको भाउ एक वर्षमै तेब्बर भन्दा बढी पुगेको छ । ‘एउटा सानो परिवारका लागि तरकारी किन्न जाँदा एक हजार खर्च हुन्छ । उपभोक्ता मात्रै नभई व्यापारीहरूले पनि खाद्यान्न तथा तरकारीमा अस्वाभाविक मूल्य बढेको बताउँछन् । तेल, दाल, गेडागुडीलगायत सबै वस्तुको मूल्य एक वर्षमा २० प्रतिशतभन्दा बढी नै महँगिएको छ ।
चाडबाडमा खाद्यवस्तुको माग बढ्ने मौका छोपेर व्यापारीले मूल्यवृद्धि गरेको आरोप उपभोक्ता र अनुगमनकारी सरकारी निकायको छ । उनीहरूका अनुसार यसपालि दसैं आउन दुई महिना बाँकी छँदै धेरैजसो सामानको मूल्य बढेको थियो । व्यापारीहरू भने सरकारले चालु आर्थिक वर्षदेखि दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम कर बढाएकाले मूल्य बढेको दाबी गर्छन् । सरकारले कच्चा दाल, गेडागुडीमा १० प्रतिशत र धान आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको छ । मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुँमा २.५ प्रतिशत आयकर लगाइएको छ ।
व्यापारीहरूको भनाइ मान्ने हो भने अग्रिम आयकर लागू भएको खाद्यवस्तुको मूल्य कम्तीमा १० प्रतिशत सम्म बढ्छ । तर बजारमा अन्य वस्तुको मूल्य पनि अचाक्ली बढेको छ । यसको पुष्टि खुद्रा व्यापार संघको मूल्यसूचीले पनि गर्छ । संघका अनुसार २०८० असोजमा स्टिम जिराको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १ सय १० रुपैयाँ पुगेको छ । २०८० असोजमा तराई ताइचिन चिउरा प्रतिकिलो १ सय ५ रुपैयाँमा पाइन्थ्यो । अहिले बढेर १ सय २० रुपैयाँ पुगेको छ । मासको दाल प्रतिकिलो २ सय १५ रुपैयाँबाट बढेर २ सय २० रुपैयाँ पुगेको छ ।
बजार अनुगमन तथा नियमन गर्ने दायित्व स्थानीय तहहरूको हो । मूल्य हस्तक्षेप गर्ने दायित्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पनि हो । विभागका महानिर्देशक राजन पौडेलले चाडबाडलाई लक्ष्य गरेर अनुगमनमा दिनहुँ ९ टोली खटाएको बताए । ती अनुगमन टोलीले दिनमा ४० हाराहारी पसल अनुगमन गरिरहेको उनको दाबी छ । ‘दिनमा कम्तीमा ४ फर्मलाई जरिवाना गरेका छौं,’ उनले भने ।
खाद्य वस्तुको गुणस्तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक सञ्जीव कर्णले केन्द्रबाट हरेक दिन २ टोली र जिल्लामा रहेको कार्यालयबाट पनि अनुगमन गरिरहेको बताए । कैफियत भेटिएका पसलहरूलाई कारबाही गरेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजार भाउका कारण केही मूल्य बढेको सरकारी निकायको भनाइ छ । अस्वाभाविक मूल्यवृद्धिका पछाडि सरकारको कर नीतिसमेत रहेको व्यापारीहरू बताउँछन् । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले मूल्य बढ्नुको कारण कर नै भएको दाबी गरे । पछिल्लो समय बाढीपहिरोले पनि खाद्यको मूल्यमा सामान्य असर परेको उनले बताए । ‘बल्खु र कालीमाटी बजारको खाद्यान्न गोदाममा चामल, दाललगायत गरी करिब ५० करोडको नोक्सानी भएको छ,’ उनले भने, ‘यसले पनि सामान्य असर गरेको छ । तर मूल्य बढ्नुमा मुख्य कारण सरकारले निर्धारण गरेको कर नै हो ।’
यस पटक खाने तेल र घिउको मूल्य पनि मनोमानी रूपमा बढाइएको उपभोक्ताको भनाइ छ । खाद्य किराना व्यवसायी संघका अनुसार एक वर्षको अवधिमा नेपाली घिउको मूल्य ५० रुपैयाँले बढेको छ । गत असोजमा प्रतिकिलो १३ सय ५० रुपैयाँ पर्ने घिउ अहिले १४ सय रुपैयाँ पर्छ । भारतले पाम, सोयाबिन र सनफ्लावरको कच्चा तेलमा २० प्रतिशत भन्सार दर बढाएपछि नेपाली तेल उद्योगीले मूल्य बढाएका छन् । भारत निर्यात गर्दा बढी मूल्य पाउने भएपछि उनीहरूले स्वदेशमा बिक्रीभन्दा निर्यातमा ध्यान दिएका छन् ।
‘नेपालमा कम बेच्ने र बेच्नैपरे मूल्य बढाउने नीति लिएका छौं,’ एक होलसेल व्यवसायीले भने, ‘पछिल्लो समय उपभोक्तालाई सबैभन्दा मार खाने तेलमा परेको छ ।’ संघका अनुसार गत असोजमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३ सय ६० रुपैयाँ थियो, अहिले ३ सय ७० रुपैयाँ पुगेको छ । भटमासको तेल २ सय ५ रुपैयाँबाट बढेर २ सय २० रुपैयाँ ९असोज १५ को मूल्य० पुगेको छ । असोज १ मा प्रतिलिटर २ सय १५ रुपैयाँ थियो । त्यस्तै, सनफ्लावर तेलको मूल्य २ सय ५ रुपैयाँबाट बढेर २ सय २० रुपैयाँ पुगेको छ ।
भारतले गत भदौ १९ बाट लागू हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशत बिन्दुले बढाएको छ । भन्सार बढेपछि भारतले आयात गर्ने कच्चा खाने तेलको आयातमा लाग्ने कर साढे २७ प्रतिशत पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउने गरेका छन् । सोही सुविधाको फाइदा उठाउँदै तेल उद्योगीले स्वदेशमा भन्दा भारततर्फ बिक्री केन्द्रित गरेका हुन् ।
यस पटक सबैभन्दा बढी मूल्यवृद्धि हरियो तरकारीमा भएको छ । चाडबाडमा मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै व्यवसायीहरूले मूल्य अचाक्ली बढाएका छन् । बाढीपहिरोले राजमार्ग बन्द भई आयात नभएको बहाना बनाउँदै उनीहरूले चर्को मूल्य लिने गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपत्यकाको करिब ७० प्रतिशत माग धान्छ । समितिको एक वर्षको मूल्य विश्लेषण गर्दा तरकारीको मूल्य दोब्बर भएको देखिन्छ ।