Swasthya Awaj
देशभर १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि, ११ जनाको मृत्यु

ललितपुरः ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विगत १० महिनामा २७ हजार १५३ जनालाई डेंगी संक्रमण पुष्टि गरेको छ । हालसम्म ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो ४ दिनमा ५ हजार ७१ जनालाई डेंगी संक्रमण भएको जनाएको छ ।

सबैभन्दा धेरै कास्कीमा ७ हजार ८० जनालाई डेंगी संक्रमण भएको छ । कास्कीमा मात्रै ४ दिनमा ३ हजार ८९२ जना संक्रमित थपिएका छन् । हाल सम्म देशभर बाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौंमा ४ हजार ६०, तनहुँमा २ हजार १९९ ,पर्वतमा १ ह्जार ६६३,ललितपुरमा १ हजार ६०, चितवनमा १ हजार ५७ जनालाई डेंगी पुष्टि भएको छ । 

विज्ञहरुका अनुसार लगभग अझै ३ हप्ता डेंगीको जोखिम रहेको भन्दै लामखुट्टेबाट जोगिन सचेत गराएका छन् । गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण र २० जनाको मृत्यु भएको पुष्टि भएको थियो । विज्ञहरुका अनुसार डेंगी सार्ने लामुखट्टेलाई अण्डा वृद्धि विकास गरी वयस्क बन्न ५ दिनभन्दा बढी जमेको सफा पानी चाहिन्छ । 

डेंगी एडिसएजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । एडिस जातको लामखुट्टे शरीर तथा खुट्टामा सेतो थोप्लाहरू भएको सानो र कालो रंगको हुन्छ । रंग र आकारको कारण यसलाई हत्तपत्त देखिँदैन । 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update