Swasthya Awaj
सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

डोटीः डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि त्यहाँ कार्यरत तीन जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीय रजनी भुलको उपचारको क्रममा मृत्यु भएपछि उनको उपचारमा सम्लग्न तीन जना डाक्टर प्रहरीको नियन्त्रणमा परेका हुन् ।

प्रहरी नियन्त्रणमा पर्ने चिकित्सकहरुमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् । उपचारका लागि ल्याइएकी बालिकालाई बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

हुलदंगापछि सुरक्षाका लागि चिकित्सकलाई प्रहरी कार्यालयमा पुर्यााइएको डोटी प्रहरी कार्यालय प्रमुख एसपी विनोद शर्माले जानकारी दिए।बालिकाका परिवार तथा आफन्तहरुले चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भएको आरोप लगाउँदै तोडफोडमा उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव हाल अस्पतालमै छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update