Swasthya Awaj
एक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन्

वीरेन्द्रनगर: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएका विषेशज्ञ डाक्टर झण्डै एक महिना बितिसक्दा पनि हाजिर भएका छैनन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा खटाइएका कार्डियोलोजिस्ट डा. सुतप यादव र न्युरोलोजिस्ट डा. ओमविक्रम शाह मन्त्रालयले पठाएको १७ भदौंमा प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो । तर, अहिलेसम्म पनि उनीहरु दुवै जना हाजिर भएका छैनन् ।

गत १७ भदौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले न्युरोलोजिस्ट डा. ओमविक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो चरणको ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएर रमाना लिएर गइसकेका छन् ।

अहिले डा. प्रभात नारायणी अस्पताल पर्सामा छन् भने डा. चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् । त्यस्तै, पहिलो चरणको ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डा. ओमविक्रम र डा. सुतप दोस्रो चरणमा सुर्खेत आउनुपर्ने हो । तर, अहिलेसम्म पनि उनीहरु प्रदेश अस्पताल सुर्खेतमा हाजिर नभएका हुन् । उनीहरू नआउँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले समेत यो विषयमा फोन गरेर समन्वय गर्दा पनि ती डाक्टरहरू कर्णाली आउन नचाहेको बताइन्छ । निर्देशक डा. खड्कासहितको टोलीले काठमाडौं पुगेर मन्त्रीलाई समेत यो समस्याबारे जानकारी गराएको थियो । तर, यो विषय सुनुवाई भएको छैन ।

मन्त्रालयको छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक परिचालन गर्ने महाशाखा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले डा. ओमविक्रम र डा. सुतपले ६ महिनापछि सुर्खेत प्रादेशिक अस्पताल जाने शर्तमा गत भदौंमा नारायणी अस्पताल पोष्टिङ गर्न मन्जुरीनामा गरेका थिए ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालको कमजोरीका कारण नभई स्वयं आउने डाक्टरहरूको कर्णालीलाई हेर्ने नजर फरक रहेका कारण समस्या भएको हो । आकर्षक सेवा सुविधा र व्यक्तिगत सहजता खोज्ने प्रवृत्तिले पनि प्रायः डाक्टरहरू कर्णालीमा आउन मान्दैनन् ।

पछिल्लो समय भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरेपनि प्रदेश अस्पताल डाक्टरहरूको रोजाइमा भने पर्न सकेको छैन । यसको उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर नहुनु हो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update